हेटौंडाः महिलामाथि बलात्कार गरेको अभियोगमा बिहीबार पक्राउ परेका ईन्द्रप्रसाद बन्जारा (रमेश) लाई ५ दिन हिरासतमै राखेर अनुसन्धान गर्न मकवानपुर जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ । आइतबार प्रहरीले बन्जारालाई अदालतमा पेश गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले बन्जारालाई ५ दिन हिरासतमा राखी अनुसन्धान गर्न अनुमति दिएको जानकारी दिनुभयो । बन्जाराविरुद्ध प्रहरीले जबर्जस्ती करणीको अभियोगमा मुद्दा दर्ता गरेको छ । प्रहरीले बिहीबार पक्राउ गरेका बन्जारा शुक्रबार स्वास्थ्यमा समस्या आएको भन्दै हेटौंडा अस्पतालको क्याबिनमा बसेका थिए । आइतबार अस्पतालले डिस्चार्ज गरिदिए पनि पुनः बिरामी भएको बहाना बनाएर बन्जारा अस्पतालकै क्याबिनमा बसेका छन् ।
हेटौंडा अस्पतालका प्रमुख डा. रामचन्द्र सापकोटाका अनुसार आइतबार बिहान राउण्डमा जाने चिकित्सकले स्वास्थ्य अवस्था सामान्य रहेको भनी डिस्चार्ज लेखिदिएको छ । राजनीतिक दलको दबावमा बन्जारा हिरासत कक्षमा नगई अस्पतालकै सुविधामा बस्ने बहाना गरिरहेको अस्पताल स्रोतले जनाएको छ । मकवानपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक बामदेव गौतमले भने चिकित्सकले डिस्चार्ज लेखिदिएपछि कसैको दबाबमा नपरी प्रहरीले हिरासत कक्षमा ल्याएर राख्ने बताउनुभए पनि बन्जारा अस्पतालकै सुविधामा बस्ने देखिएको छ ।