आइतबार बालज्योति माविले निजी स्रोतमा शिक्षक नियुक्तिका लागि सार्वजनिक गरेको सूचना ।

हेटौंडाः हेटौंडा–५, पिप्लेस्थित बालज्योति माविले नयाँ शैक्षिकसत्र सुरु भएसँगै ५ जना शिक्षक नियुक्त गर्न सूचना प्रकाशित गरेको छ । विद्यार्थीको चाप बढेसँगै विद्यालयले निजी स्रोतमा शिक्षक नियुक्त गर्न लागेको हो । निजी स्रोतमै कार्यरत ३ जना शिक्षकमध्ये दुईजनाले राहत मावि दरबन्दी र एकजनाले प्रावि स्थायी दरबन्दीमा नाम निकालेपछि राजिनामा दिएका थिए ।

३ जनाले राजिनामा दिएर रिक्त रहेको स्थानका लागि नयाँ शिक्षक नियुक्त गर्न लागेको विद्यालयले विद्यार्थीको चापकै कारण २ जना शिक्षक थप नियुक्त गर्न लागेको प्रधानाध्यापक भरतप्रसाद अर्यालले जानकारी दिनुभएको छ । बालज्योति माविमा निजी स्रोतका शिक्षकको संख्या नै ४० पुग्ने भएको छ । स्थायी र राहत कोटा गरेर जम्मा २५ जना शिक्षक रहेको बालज्योति माविमा निजी स्रोतका शिक्षकको संख्या भने ४० पुगेको छ ।

नयाँ शैक्षिक सत्र २०८० का लागि बढीमा ८० जना विद्यार्थी भर्ना गर्न सकिने अवस्था रहे पनि अहिलेसम्म २ सय भन्दा बढी विद्यार्थीले भर्ना हुनका लागि फारम भरिसकेको प्रधानाध्यापक अर्यालले जानकारी दिनुभयो । बालज्योतिले बैशाख ६ गते प्रवेश परीक्षा लिने तयारी गरिरहेको छ । भौतिक संरचना, शिक्षक, कर्मचारीको जनशक्तिको अभावमा भर्ना हुन चाहने विद्यार्थीलाई भर्ना गर्न नसक्ने अवस्था रहेको उहाँको भनाइ छ । बढीमा ८० जना विद्यार्थी भर्ना गर्दा बालज्योति माविको विद्यार्थी संख्या एक हजार दुई सय पुग्नेछ ।

विद्यार्थीको अनुपातमा स्थायी शिक्षक नहुँदा निजी स्रोतमै शिक्षक नियुक्त गर्नुपर्ने बाध्यता रहेको उल्लेख गर्नुहुँदै प्रधानाध्यापक अर्यालले भन्नुभयो, “विद्यार्थीको अनुपातअनुसार शिक्षक व्यवस्थापनका लागि निजी स्रोतमा शिक्षक नियुक्त गर्न बाध्य छौं । निजी स्रोतमा नियुक्त गरिने शिक्षकलाई कम पारिश्रमिक दिन बाध्य हुनुपर्छ । विद्यालयले अभिभावकसँग न्यूनतम् सहयोग शूल्क लिएर स्रोत व्यवस्थापन गरिरहेका छौं । यो निक्कै चुनौतिपूर्ण विषय हो ।”