हेटौंडा रनको उपाधि विजेता उमेश गोङ्बालाई ट्रफी तथा नगदसहित पुरस्कृत गर्नुहुँदै नगर प्रमुख लामा र उपप्रमुख बानियाँ ।

हेटौंडाः नयाँ वर्षको अवसरमा हेटौंडा उपमहानगरपालिकाले आयोजना गरेको हेटौंडा रन प्रतियोगिताको उपाधि हेटौंडा–१४, बनेलधापका उमेश गोङ्बाले जितेका छन् । आइतबार बिहान हेटौंडामा भएको प्रतियोगितामा २० मिनेट ४ सेकेन्डमा ५ किलोमिटर दूरि पार गर्दै गोङ्बाले उपाधि जितेका हुन् । गोङ्बा हेटौंडा फुटबल एकेडमीका खेलाडी हुन् । गोङ्बाले उपाधिसँगै नगद ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।

१९ मिनेट ५५ सेकेन्डमा निर्धारित दूरि पार गरेका सोमप्रसाद न्यौपाने मकवानपुर जिल्ला बाहिरको भन्ने पुष्टि भएपछि दोस्रो स्थानमा रहेका गोङ्बा स्वतः प्रथम घोषित भएका हुन् । २० मिनेट १० सेकेन्डमा दूरी पार गरेका सन्जिब मिजार द्वितीय भए भने २० मिनेट १८ सेकेन्डमा दूरी पार गरेका सनिस लामा तृतीय भए । द्वितीय र तृतीय हुने मिजार र लामाले क्रमशः ३० हजार रुपैयाँ र २० हजार रुपैयाँ प्राप्त गरेका छन् ।

सान्त्वना भएका सुमन आले मगर र निशान श्रेष्ठलाई १०–१० हजार रुपैयाँ प्रदान गरिएको छ । हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामा र उपप्रमुख राजेश बानियाँले पुरस्कार वितरण गर्नुभयो । पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामाले युवाहरुलाई खेलकुदमा जोड्नका लागि प्रतियोगिता आयोजना गरिएको बताउनुभयो । हेटौंडा उपमहानगरपालिकाले प्रतियोगिता प्रत्येक वर्ष आयोजना गर्ने पनि नगर प्रमुख लामाले बताउनुभयो । उहाँले महिलाहरूलाई खेलकुदमा जोड्न केही समयमै महिला खेल महोत्सव आयोजना गरिने बताउनुभएको छ ।

हेटौंडाको बुद्धचोकबाट सुरु भएको दौड कान्तिराजपथको सानोपोखरा, पिप्ले हुँदै पुनः बुद्धचोकमा आएर समापन भएको थियो । प्रतियोगितामा ५६ जनाको सहभागिता रहेको थियो । प्रतियोगितामा ५६ जनाको सहभागिता रहेको थियो । हेटौंडा उपमहानगरपालिकाको नगर खेलकुद विकास समितिका अध्यक्ष चन्द्र शाहीको सभाध्यक्षमा भएको पुरस्कार वितरण कार्यक्रममा वडा अध्यक्षहरु, हेटौंडा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईं, मकवानपुर जिल्ला एथ्लेटिक्स संघका अध्यक्ष प्रभाकर पाण्डे लगायतको आतिथ्य रहेको थियो ।