गत चैत १७ गतेबाट सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) को साधारणतर्फको परीक्षा सकिएको छ । प्राविधिक धारतर्फका विषय अध्ययन गर्ने केही विद्यार्थीको परीक्षा भोलि बिहीबारसम्म सञ्चालन हुने भए पनि साधारण धारतर्फका विषय अध्ययन गरेका विद्यार्थीको परीक्षा आइतबार सकिएको हो । इसईई परीक्षा सकिएसँगै देशभरका करिब ५ लाख विद्यार्थी करिब ३ महिनालाई फुर्सदिला भएका छन् । विगतमा कक्षा १० सम्म विद्यालय तहको शिक्षा हुँदा कक्षा १० को अन्त्यमा हुने परीक्षालाई एसएलसी भन्ने गरिन्थ्यो । त्यतिबेला एसएलसी परीक्षालाई निकै महत्वका साथ लिने गरिएकोमा अहिले कक्षा १२ सम्म विद्यालय शिक्षा भएपछि कक्षा १२ को अन्त्यमा लिइने परीक्षालाई एसएलसी भन्ने गरिएको छ । तर, अझै पनि कक्षा १२ को परीक्षालाई भन्दा कक्षा १० कै परीक्षालाई बढी महत्व दिने गरिएको छ । अधिकांश माध्यमिक विद्यालयमा कक्षा १० सम्ममात्र पठनपाठन हुने भएकाले पनि कक्षा १० को एसईईलाई नै विद्यालय तहको अन्तिम परीक्षा मानेर बढी महत्व दिने गरिएको हुनसक्छ ।

एसईई परीक्षा दिएर बसेका विद्यार्थीहरु अब कक्षा ११ पढ्ने विषय तथा अन्य प्राविधिक विषय अध्ययनको सपना बुन्न थालेका छन् । एसईई परीक्षा सकिएपछि विद्यार्थीमा एकप्रकारको स्वच्छन्दता देखिन्छ । १० वर्षसम्म विद्यालयमा रहेर निरन्तरको पढाई र परीक्षाले आजित बनेका विद्यार्थी केही महिना भए पनि स्वतन्त्र हुन चाहन्छन् । कक्षा १० को सुरुवातदेखि नै विद्यालयहरुले गराउने विशेष तयारी तथा अतिरिक्त कक्षाको बोझले थिचिएका विद्यार्थी यतिखेर पिँजडाबाट छुटेको चराजस्तै स्वतन्त्र र उन्मुक्त भएका छन् । तर, कतिपय विद्यार्थीहरु भोलिका दिनमा पढ्ने विषय तथा आफ्नो भविष्यप्रति चिन्तित बन्ने गरेको पाइन्छ । विद्यार्थी स्वयम् तथा अभिभावकको दबावले एसईईपछिको खाली समयमा पनि विद्यार्थीहरु ब्रिजकोर्स, भाषा कक्षा, कम्प्युटर कक्षा तथा अन्य सीपमूलक तालिमप्रति आकर्षित हुने गर्दछन् । यसकारण एसईई दिएका अधिकांश विद्यार्थी अब विभिन्न इन्स्टिच्युट धाउन थाल्दछन् । कक्षा ११ मा विज्ञान तथा अन्य प्राविधिक विषय अध्ययन गर्न चाहने विद्यार्थीहरु ब्रिजकोर्सप्रति आकर्षित हुन्छन् भने अन्य विद्यार्थीहरु भाषा तथा कम्प्युटर सिक्ने गर्दछन् । एसईई दिएका अधिकांश विद्यार्थी ब्रिजकोर्स र कम्प्युटर सिक्न आतुर देखिएका छन् ।

सरकारले कक्षा १२ सम्मलाई विद्यालय तहमा समावेश गरेपछि अहिले एसईई परीक्षा कक्षा १० बाट ११ मा जाने आधारमात्र हो । कक्षा १२ को अन्त्यमा राष्ट्रियस्तरमा एसएलसी परीक्षा सञ्चालन गर्ने र कक्षा १० को एसईईलाई प्रदेशस्तरमा सिमित गर्ने कानुनी तथा नीतिगत व्यवस्था रहेको भए पनि त्यसको कार्यान्वयन नहुँदा विद्यार्थी तथा अभिभावक अन्यौलमा परेका छन् । कक्षा ११ र १२ मा कक्षा ९ र १० कै जस्तो पाठ्यक्रमको संरचना हुन्छ । तर, विगतमा उच्च माविको रुपमा रहेको कक्षा ११ र १२ को पठनपाठन गराउँदै आएका कलेजहरुले अहिले पनि कक्षा ११ र १२ का विद्यार्थी पढाउने गरेका कारण कक्षा १० को एसईई नै विद्यालय तहको अन्तिम परीक्षाजस्तो मानिएको छ । कक्षा ११ त कलेजमा पढ्ने हो भन्ने बुझाई विद्यार्थी तथा अभिभावकमा भएकै कारण एसईई पछिको अध्ययनको विषयलाई लिएर विद्यार्थी तथा अभिभावकमा बढी चिन्ता देखिने गरेको छ ।

एसईईपछि कक्षा १० अध्ययन गरेकै विद्यालय वा नजिकको अन्य विद्यालयमा पठनपाठन गर्ने गराउने व्यवस्था हुनुपर्नेमा अहिले अधिकांश विद्यार्थी कुन र कहाँको कलेजमा के विषय पढ्ने भन्ने चासो र चिन्तामा रहने गरेका छन् । यसले विद्यार्थीबीच विभेद सिर्जना गर्ने गरेको छ । घरायसी आर्थिक अवस्था मजबुत भएका विद्यार्थीले सुविधासम्पन्न र महंगो विद्यालय वा क्याम्पस र विषय अध्ययन गर्ने र आर्थिक अवस्था कमजोर भएका विद्यार्थीले पढाई नै छाड्नुपर्ने अवस्था बन्ने गरेको छ । परीक्षाको नतिजा नै नआइकन विद्यार्थीले अनावश्यक चिन्ता गरेर वा उच्च महत्वकांक्षासहित हौसिएर आफ्नो भविष्य अन्यौल पार्नुु हुँदैन । एसईईपछि अनावश्यक चिन्ता गर्नुभन्दा कक्षा १२ सम्म विद्यालय तह नै भएकाले एसईईको नतिजा सार्वजनिक भएपछि कक्षा ९, १० मा पढेको र आफ्नो रुचिको विषय अध्ययनतर्फ विद्यार्थी अग्रसर हुनु उचित हुनेछ ।