फाइल तस्बिरः हेटौंडा उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यालय ।

हेटौंडाः स्थानीय पाठ्यक्रम निर्माणका लागि सरोकारवालाहरुसँग छलफल एवम् पृष्ठपोषण संकलन कार्यक्रम सम्पन्न भएको छ । हेटौंडा उपमहानगरपालिकाको सभाहलमा उपमहानगरले शुक्रबार आयोजना गरेको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक तथा शिक्षक प्रतिनिधिहरुको सहभागिता रहेको थियो । सहभागीहरुले नैतिक र मूल्य मान्यताको शिक्षालाई स्थानीय पाठ्यक्रममा विशेष जोड दिनुपर्ने बताउनुभयो ।

हेटौंडा उपमहानगरपालिका शिक्षा विकास महाशाखाका शिक्षा अधिकृत रामचन्द्र खड्काले स्थानीय पाठ्यक्रमबारे सहजीकरण गर्नुभयो । हेटौंडा उपमहानरभित्रै सञ्चालनमा रहेका उद्योग, कलकारखाना, पेशा, व्यवसाय, भूगोल, स्थानीय प्राकृतिक स्रोत र सम्पदा, जंगल, रुखविरुवा, खोलानाला, हावापानी, भाषा, कला, संस्कृति, रहनसहन, इतिहासलाई पाठ्यक्रममा कसरी समेटिने भन्ने विषयमा खड्काले जानकारी दिनुभयो ।

स्थानीय पाठ्यक्रम प्रारुप २०७१ अनुसार स्थानीय पाठ्यक्रमको ढाँचा, स्थानीय पाठ्यक्रम विकासका प्रक्रियाहरु, संघ, प्रदेश र स्थानीय सरकारको पाठ्यक्रमसम्बद्व अधिकार क्षेत्रको बाँडफाँड, पाठ्यपुस्तक तथा पाठ्यसामग्री विकास, उत्पादन तथा वितरण, तहअनुसार आधारभूत शिक्षा, स्थानीय विषयका सम्भावित विषय क्षेत्रजस्ता विषयमा खड्काले सहजीकरण गर्नुभयो । पाठ्यक्रम विकास तथा कार्यान्वयन समितिका केशव सञ्जेलले आवश्यकतालाई पहिचान गरी विकेन्द्रीकरणलाई आत्मसाथ गर्दै स्थानीय पाठ्यक्रम विकासका लागि अघि बढ्नुपर्ने बताउनुभयो ।

कक्षा–३ सम्म प्रायः विद्यालयमा स्थानीय पाठ्यक्रम कार्यान्वयनमा आइसकेको उहाँले बताउनुभयो । अब कक्षा–४ देखि ८ सम्मको पाठ्यक्रम निर्माणमा उपमहानगरपालिका लागेको सञ्जेलले बताउनुभयो । छलफल कार्यक्रम पहिलो चरणको रहेकाले अब उपमहानगरपालिकाले फेरि विज्ञहरुसँग छलफलमा लाग्ने उहाँले जानकारी दिनुभयो । सामग्री अध्ययन, विषयवस्तु किटान, सिकाई प्रक्रिया तथा मूल्यांकन, खोज तथा अनुसन्धान, लेखन तथा सम्पादन, प्रगतिकरण र वितरणमा लाग्ने जानकारी सञ्जेलले दिनुभयो । स्थानीय पाठ्यक्रममा प्रयोगात्मक र सैद्वान्तिक विषय बराबर समेटिने उहाँको भनाई छ ।