हेटौंडाः माध्यमिक शिक्षा परीक्षा (एसईई) को चौथो दिन बुधबार अनिवार्य विज्ञान विषयको परीक्षा भएको छ । विज्ञान विषयको परीक्षामा ३ हजार ३ सय ७० जना छात्रा र २ हजार ७ सय ९९ जना छात्र गरी ६ हजार एक सय ६९ जना विद्यार्थी परीक्षामा उपस्थित भएका छन् । यस्तै एक सय २५ जना विद्यार्थी विज्ञान विषयको परीक्षामा अनुपस्थित भएको शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरका प्राविधिक प्रेमचन्द्र चौधरीले जानकारी दिनुभएको छ ।
४७ जना छात्रा र ७८ जना छात्र परीक्षामा अनुपस्थित भएको उहाँले बताउनुभयो । प्राविधिक सहायक चौधरीका अनुसार एकजना किरियापुत्री परीक्षार्थीले पनि परीक्षा दिएका छन् । यस्तै हेटौंडा–५ स्थित बालज्योति माध्यमिक विद्यालयका २ जना दृष्टिविहीन विद्यार्थीले सहयोगीको साथमा परीक्षा दिएका छन् । चैत २९ गतेसम्म संचालन हुने परीक्षाको पाँचौं दिन बिहीबार अनिवार्य सामाजिक अध्ययनको परीक्षा हुँदैछ ।