हेटौंडाः तीन एक दिवसीय मैत्रीपूर्ण क्रिकेटअन्तर्गत दोस्रो खेलमा चितवनले मकवानपुरलाई विशाल लक्ष्य दिएको छ । हेटौंडाको हुप्रचौरमा टस जितेर पहिले व्याटिङ गरेको चितवनले निर्धारित ५० ओभरमा ३२० रन जोडेको छ । चितवनका लागि जेनिश क्षेत्रीले ९० रन जोड्दा सनम बुढाथोकी र साकार ढकालले ५०÷५० रनको योगदान गरे ।
मकवानपुरले अब पाहुना टोली विरुद्ध ३२१ रनको लक्ष्यसहित व्याटिङ सुरु गर्नेछ । यसअघि चितवन र मकवानपुरबीच तीन एकदिवसीय मैत्रीपूर्ण खेल सोमबारबाट हेटौंडाको हुप्रचौरमा सुरु भएको हो । पहिलो खेलमा चितवनले मकवानपुरलाई ६ विकेटले पराजित गरेको छ । सोमबार टस जितेर मकवानपुरले व्याटिङ गरेको थियो । निर्धारित ४० ओभरको खेलमा २८ ओभर २ बलमा ११८ रन जोडेको मकवानपुरलाई चितवनले जवाफी व्याटिङ गर्दै २५ ओभर ५ बलमा लक्ष्य भेट्टाएको थियो ।
मकवानपुरको कप्तानी सुमन सुनारले गरेका छन् भने चितवनको कप्तानी दिपेश श्रेष्ठले गरेका छन् । तीन एकदिवसीय मैत्रीपूर्ण खेलको अन्तिम खेल बुधबार हुनेछ । मकवानपुर जिल्लाले चितवनसँगै बारा, पर्सा, रौहतटसँग मैत्रीपूर्ण खेल खेल्दै आएको छ ।