दोभाषे तालिममा सहभागीहरु ।

हेटौंडाः सुस्त श्रवण भएका नागरिकहरुलार्ई सूचनाको प्रवद्र्धनमा असहज भएकाले सहजताको लागि हेटौंडामा दोभाषे (सांकेतिक भाषा सञ्चार) तालिम सञ्चालन भइरहेको छ । कार्यक्रममा सातै प्रदेशबाट १८ जना प्रशिक्षार्थीले दोभाषे तालिम लिइरहेका छन् ।

राष्ट्रिय बहिरा महासंघ नेपालको आयोजना र महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको सहयोगमा तालिम सञ्चालन गरिएको हो । तालिममा मुख्य प्रशिक्षक कृष्ण गजुरेल र प्रशिक्षकमा जसोदा कँडेल रहनु भएको छ । तालिम फागुन १८ गतेबाट सञ्चालन भएको र बैशाख १८ गते सम्पन्न हुने गजुरेलले जानकारी दिनुभयो । कार्यक्रमको उद्घाटन बागमती प्रदेशका सामाजिक विकासमन्त्री कुमारी मोक्तनले गर्नुभएको थियो । बहिराहरुलाई सूचनाको पहुँचको लागि दोभाषे तालिम सञ्चालनमा ल्याएको उहाँको भनाई रहेको छ । यसअघि नेपालगञ्ज र हेटौंडामा नै ३ महिने तालिम सञ्चालन भइसकेको गजुरेलले जानकारी दिनुभयो ।

तालिममा विभिन्न जिल्लाका प्रशिक्षार्थीहरु रहेका छन् । तालिम बहिराहरुलाई नभई सामान्य मनिसलाई प्रदान गरिएको छ । बहिरा व्यक्तिहरुलाई सहजताका लागि दोभाषे पेसा गर्ने व्यक्तिलाई तालिम प्रदान गरिएको हो । तालिममा सहभागी स्याङ्जाका सुवास कोइरालले आफूले नेपालगञ्जमा ३ महिने तालिम लिएको र २ महिने तालिम लिन हेटौंडा आएको बताउनुभयो । आफ्नो परिवारमा आफ्नो भाइ बहिरो भएकाले दोभाषे पेसामा आफू प्रेरित भएको धारणा उहाँले राख्नुभयो । अन्य पेसा भएका व्यक्तिहरुलाई दोभाषे पेसा सहज हुने र पेसा नभएकालाई जीविकोपार्जनका लागि गाह्रो अवस्था रहेको बताउनुभयो । तालिममा मकवनपुरकी अम्बिका घिमिरेले समाजमा बहिरा मान्छे भेट्ने गरेको र त्यस्ता व्यक्तिहरुको सहयोगका लागि आफूले दोभाषे पेसामा लागेको बताउनुभयो ।

अर्का प्रशिक्षार्थी सप्तरी, कञ्चनपुरका नरेशकुमार यादवले आफ्नो बहिनी बहिरा भएकाले आफू दोभाषे पेसामा लागेको बताउनुभयो । आफूले १० महिने आधारभूत दोभाषे लालिम लिएको र मधेश प्रदेशको महिला तथा खेलकुद विकास मन्त्रालयमा काम गर्दै आएको यादवले बताउनुभयो । कामको सिलसिलामा विभिन्न बहिरासँग भेट हुने भएकाले उनीहरुको सहजताका लागि दोभाषे तालिम लिएको उहाँको भनाई छ । स्थानीय तहहरुमा बहिराहरुका लागि यस्ता कार्य नभएकाले सञ्चारबाट वञ्चित रहेको गजुरेलको भनाई रहेको छ । नेपाल सरकारको सहकार्यमा आगामी समयमा सरकारी कार्यालयहरुमा दोभाषेको रुपमा नियुक्ति गर्न सहकार्य गर्ने उहाँको भनाई रहेको छ ।