अम्पायर (बीचमा) को साथमा मकवानपुर (बायाँ), चितवन (दायाँ) जिल्ला क्रिकेट टिमका कप्तान ।

हेटौंडाः मकवानपुर र चितवन जिल्लाको क्रिकेट टिमबीच तीन वटा मैत्रीपूर्ण एकदिवसीय क्रिकेटअन्तर्गत आज सोमबार पहिलो खेल सुरु भएको छ । हेटौंडाको हुप्रचौरमा केहीबेरअघि सुरु भएको खेलमा मकवानपुरले टस जितेर व्याटिङ गरिरहेको छ ।

मकवानपुर जिल्ला क्रिकेट संघको निमन्त्रणामा मैत्रीपूर्ण खेल भएको हो । पूर्वकप्तान राम नरेश गिरीसहित तक्षक सिम्खडासहित सिनियर ४ खेलाडीलाई समावेश नगरी यु–१९ टिमका ४ खेलाडीलाई अवसर दिइएको बताइएको छ । तीन दिन लगातार हुने मैत्रीपूर्ण खेलमा मकवानपुर जिल्ला क्रिकेट टिमको कप्तानी सुमन सुनारले गरेका छन् । चितवन जिल्ला क्रिकेट टिमको कप्तानी दिपेश श्रेष्ठले गरेका छन् ।

तीन एकदिवसीय मैत्रीपूर्ण खेलको उद्घाटन कार्यक्रम हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँ र मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेष खड्गीको उपस्थितिमा भएको हो । मकवानपुर जिल्ला क्रिकेट संघका अध्यक्ष बासुलाल श्रेष्ठले क्रिकेट खेलमा राम्रो सम्भावना भएर पनि खेलमैदानको अभावमा अपेक्षित विकासमा बाधा पुगेको बताउनुभएको छ ।

मकवानपुर जिल्लाले यसअघि पनि चितवन, बारा, पर्सा, रौतहट जिल्लासँग मैत्रीपूर्ण खेल खेल्दै आएको छ । मकवानपुर जिल्ला बागमती प्रदेशस्तरीय क्रिकेट प्रतियोगिताको उपाधि विजेता टिम समेत हो ।