हेटौंडाः हेटौंडा उपमाहनगरपालिका–१५, चिप्लेटीमा रहेको स्वास्थ्य केन्द्रमा फेरि सेवा सुरु भएको छ । नगरपालिकाले लोकसेवा आयोगको परीक्षा दिएकालाई मात्र राख्ने र दैनिक ज्यालादारी गर्नेलाई हटाउँदा स्वास्थ्यकर्मी पनि परेको र केन्द्र बन्द भएको उपमहानगरपालिकाको स्वास्थ्य शाखा प्रमुख अनन्त बास्कोटाले जानकारी दिनुभयो ।
आइतबारबाट केन्द्रमा एउटा स्वास्थ्यकर्मी पठाएपछि केन्द्रमा फेरि सेवा दिन सुरु भएको छ । स्वास्थ्य केन्द्र फागुन १ बाट बन्द भएको र आइतबारबाट फेरि सुरु भएको छ । सेवा बन्द हुँदा त्यति ठूलो समस्या नपरेको तर धेरैले गुनासो गरेको बास्कोटाले बताउनुभयो । आहिले अस्थायी व्यवस्था रहेको र हप्ता हप्तामा परिवर्तन हुने उहाँले बताउनुभयो । अब फेरि सेवा सुरु हुँदा सामान्य जाँच, खोपको सुविधा, सुत्केरीको जाँच साथै टिबी र कुष्ठरोगको औषधी प्राप्त हुने बास्कोटाले जानकारी दिनुभयो ।











