हेटौंडाः स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन अन्तर्गत हेटौंडा–६, चौघडास्थित बशंगोपाल बहुमुखी क्याम्पसमा अनेरास्ववियूको प्यानलै विजयी भएको छ । आइतबार दिउँसो सार्वजनिक अन्तिम मत परिणाम अनुसार अनेरास्ववियूका दिवस सिलवालको प्यानल विजयी भएको क्याम्पसका निर्वाचन अधिकृत विश्वराज राईले जानकारी दिनुभयो ।
अनेरास्ववियूका उम्मेदवार सिलवालले प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका मोनिका गौतमलाई दोब्बर मतले पराजित गरेको छ । सिलवालले १८ मत प्राप्त गर्दै विजयी भएको हो भने गौतमले ९ मत मात्र प्राप्त गरेका छन् । सचिवमा प्रतिमा लामिछानेले २० मत प्राप्त गर्दै विजयी हुँदा प्रतिद्वन्द्वी सुवास राईले ७ मत मात्र प्राप्त गरे । कोषाध्यक्षमा रुपा राई १७ मतसहित विजयी भएको छ भने प्रतिद्वन्द्वी अन्जु राईले १० मत मात्र प्राप्त गरेका छन् । यस्तै सदस्यमा सपना राउत २३ मत र सुजन गोल १७ मतसहित विजयी भएका छन् । ३० जना मतदाता रहेको क्याम्पसमा २७ मत खसेको थियो ।