हेटौंडाः हेटौंडामा जारी दोस्रो संस्करणको मकवानपुर जिल्लास्तरीय अन्तरपालिका फुटबल प्रतियोगिता अन्तर्गत आज आइतबार दुई खेल हुँदैछ । हेटौंडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा हुने आजको पहिलो खेलमा साविक विजेता थाहा नगरपालिका र राक्सिराङ गाउँपालिकाबीच प्रतिस्पर्धा हुनेछ ।
राक्सिराङ र थाहाबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ । दुई टिमबीचको विजेताले सेमिफाइनल प्रवेशका लागि मंगलबार बामगती गाउँपालिकासँग खेल्नेछ । आइतबारको दोस्रो खेलमा हेटौंडा उपमहानगरपालिका र बकैया गाउँपालिकाबीच प्रतिस्पर्धा हुुनेछ । खेल दिउँसो ३ बजे हुनेछ । विजयी टिमले सेमिफाइनलमा स्थान बनाउनेछन् । शनिबार भएको उद्घाटन खेलमा कैलाश गाउँपालिकालाई हराउँदै भीमफेदी गाउँपालिकाले विजयी सुरुवात गरेको थियो । प्रतियोगिताको फाइनल खेल चैत ११ गते हुनेछ ।
प्रतियोगिताको विजेताले २ लाख रुपैयाँ नगदसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद एकलाख रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।