मकवानपुर बहुमखी क्याम्पसको मतदान स्थल ।

हेटौंडाः करिब १४ वर्षपछि त्रिभुवन विश्वविद्यालय (त्रिवि)का आंगीक र सम्बन्धन प्राप्त क्याम्पसमा आज आइतबार स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुँदैछ । आज हुन लागेको स्ववियु निर्वाचनअन्तर्गत् मकवानपुरका ७ वटा क्याम्पसमा चुनाव हुँदैछ । मकवानपुरको पालुङ बहुमुखी क्याम्पसमा यसअघि नै सर्वसम्मत स्ववियुको नेतृत्व चयन भइसकेको छ ।

मकवानपुरको मकवानपुर बहुमुखी क्याम्पस, हेटौंडा क्याम्पस, वन विज्ञान अध्ययन संस्थान, जनप्रिय बहुमुखी क्याम्पस, वंशगोपाल बहुमुखी क्याम्पस, निर्मल बहुमुखी क्याम्पस र मनहरी बहुमुखी क्याम्पसमा निर्वाचन हुन लागेको हो । मकवानपुर बहुमुखी क्याम्पसमा ३ हजार ९१ जना, हेटौंडा क्याम्पसमा ८९७ जना र वन विज्ञान अध्ययन संस्थानमा ४३९ जना विद्यार्थी मतदाता रहेका छन् ।

मकवानपुरका सबै क्याम्पसमा दुई वटा प्यानल बनेर प्रतिस्पर्धा भएको छ । नेपाली कांग्रेस निकट नेविसंघ, माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी र राप्रपा निकट राप्रविसंले एउटा प्यानल बनाएको छ भने नेकपा एमाले निकट अनेरास्ववियु, नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियू र विप्लब नेतृत्वको नेकपा निकट अखिल (क्रान्तिकारी)को अर्को प्यानल रहेको छ ।

अनेरास्ववियु, अनेरास्ववियू र अखिल (क्रान्तिकारी) प्यानलबाट मकवानपुर बहुमुखी क्याम्पसमा अनेरास्ववियुका नवराज शर्मा पौडेल, हेटौंडा क्याम्पसमा अनेरास्ववियुका अभि मैनाली, वन विज्ञान अध्ययन संस्थानमा अनेरास्ववियुका अरुण अधिकारी, जनप्रिय बहुमुखी क्याम्पसमा अखिल (क्रान्तिकारी) की मुना गोले, वंशगोपाल बहुमुखी क्याम्पसमा अनेरास्ववियूका दिवस सिलवाल, निर्मल बहुमुखी क्याम्पसमा अनेरास्ववियुका सरोज अर्याल र मनहरी बहुमुखी क्याम्पसमा अनेरास्ववियूका कुमार घिसिङ अध्यक्षका उम्मेदवार छन् ।

नेविसंघ, अखिल क्रान्तिकारी र राप्रविसं प्यानलले मकवानपुर बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारीका छोइसाङ लामा, हेटौंडा क्याम्पसमा नेविसंघका राजीव फुयाल, वन विज्ञान अध्ययन संस्थानमा नेविसंघका दीपेन्द्र कँडेल, जनप्रिय बहुमुखी क्याम्पसमा नेविसंघका सुजन धिमाल, वंशगोपाल बहुमुखी क्याम्पसमा राप्रविसंकी मनिका गौतम, निर्मल बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारीका जयबहादुर रोक्का र मनहरी बहुमुखी क्याम्पसमा नेविसंघका किशोर लम्साल अध्यक्षका उम्मेदवार छन् । पालुङ बहुमुखी क्याम्पसमा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका पुश्कल श्रेष्ठ अध्यक्षमा सर्वसम्मत निर्वाचित भइसकेका छन् ।

स्ववियु निर्वाचनका लागि मकवानपुरका सबै क्याम्पसले मतदान र मतगणना स्थलको तयारी सम्पन्न गरिसकेका छन् । सबैभन्दा बढी विद्यार्थी भएको मकवानपुर बहुमुखी क्याम्पसमा ६ वटा मतदान केन्द्र रहेको छ भने मतगणना स्थलमा तारजाली लगाइएको छ । आज आइतबार बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्मलाई मतदानको समय तोकिएको मकवानपुर बहुमुखी क्याम्पस स्ववियु निर्वाचन समितिका निर्वाचन अधिकृत डा. यमबहादुर सिलवालले जानकारी दिनुभयो । निर्वाचन सकिएलगत्तै मतगणनाको कार्य प्रारम्भ गरिने हेटौंडा क्याम्पसका प्रमुख निर्वाचन अधिकृत अच्युत पराजुलीले बताउनुभयो ।

करिब १४ वर्षपछि त्रिविका ६२ आंगीक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा स्ववियु चुनाव हुन लागेको हो । अध्यक्ष, सचिव, कोषाध्यक्ष र ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणाली तथा उपाध्यक्ष, सहसचिव र ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुनेछन् । दुई सय विद्यार्थी बराबर ११ सदस्यीय कार्यसमिति, दुई सय एकदेखि एक हजारसम्म विद्यार्थी भएमा १३ जनाको कार्यसमिति, एक हजार एकदेखि तीन हजारसम्म विद्यार्थी भएमा १९ जनाको कार्यसमिति र तीन हजार एकदेखि पाँच हजारसम्म विद्यार्थी भएमा २१ सदस्यीय कार्यसमिति हुनेछ । वनविज्ञान अध्ययन संस्थानमा भने ३ जना स्वतन्त्र उम्मेदवार पनि चुनावी प्रतिस्पर्धामा छन् । संगठनबाहेक स्वतन्त्रबाट अध्यक्षमा विवेक पाण्डे, सचिवमा किशोर दाहाल र कोषाध्यक्ष सुदिप लम्साल चुनावी प्रतिस्पर्धामा रहेका छन् ।