धेरै पटकसम्म घोषणा भएर हुन नसकेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन आज आइतबार हुँदैछ । त्रिभुवन विश्वविद्यालयअन्तर्गतका आङ्गीक र सम्बन्धन प्राप्त कलेजहरुमा प्रत्येक दुई वर्षको अन्तरालमा स्ववियु निर्वाचन गर्ने व्यवस्था छ । विगतमा नियमित हुने गरेको स्ववियु निर्वाचन करिब दुई दशकदेखि नियमित हुन सकेको छैन । विद्यार्थी संगठनहरुले निर्धारित समयमा स्ववियु निर्वाचन गर्न उचित दवाव दिन नसकेकै कारण विगतमा त्रिभुवन विश्वविद्यालयको नेतृत्व स्ववियु निर्वाचनप्रति उदासिन बन्दै आएको थियो । विश्वविद्यालय तथा यसअन्तर्गत्का क्याम्पसहरुको शैक्षिक गुणस्तर सुधारका साथै विद्यार्थीको हक हितका पक्षमा आवाज बुलन्द पार्ने दायित्व रहेको स्ववियु निर्वाचन हुन नसक्दा विद्यार्थी संगठनहरु निष्प्रभावी बन्न थालेका थिए । राजनीतिक दलहरुको भातृ संगठनको रुपमा रहेका अधिकांश विद्यार्थी संगठनहरु आ–आफ्नो दलगत स्वार्थमा रुमल्लिने गरेका कारण विश्वविद्यालय तथा कलेजहरुमा स्वतन्त्र विद्यार्थी युनियनको भूमिकालाई विशेष महत्व दिने गरिएको छ ।
राजनीतिक चेतनाको सम्बाहकको रुपमा विद्यार्थी संगठन रहने गरेका छन् । पञ्चायतकालदेखि नै नेपालमा विद्यार्थी संगठनहरु राजनीतिप्रति बढी चासो राख्दै आएको पाइन्छ । विद्यार्थीको हकहितमा केन्द्रित हुनुपर्ने विद्यार्थी संगठनहरु राजनीतिप्रति बढी चिन्तित बन्दा शैक्षिक मुद्दाहरु ओझेलमा पर्ने गरेका छन् । विद्यार्थी संगठनहरुले राजनीतिक दलहरुको एजेण्डासँगै शैक्षिक सुधार र उन्नयनका लागि आवाज उठाउनुपर्छ । राजनीतिक परिवर्तनमा अग्रपंक्तिमा रहँदै आएका विद्यार्थी संगठनहरुले विद्यालय तथा विश्वविद्यालय तहको शैक्षिक मुद्दामा पनि उत्तिकै जिम्मेवार बन्नुपर्छ । विद्यार्थी संगठनहरु राजनीतिक दल र तिनका नेतृत्वको छत्रछायाँमा सिमित बन्नु हुँदैन । २०६२÷०६३ को राजनीतिक परिवर्तनपछि विद्यार्थी संगठनहरुले शैक्षिक मुद्दामा प्रभावकारी आन्दोलनको नेतृत्व गर्न सकेका छैनन् । यसको एउटा प्रमुख कारण स्ववियु निर्वाचनलाई लिन सकिन्छ । समयमा स्ववियु निर्वाचन नहुँदा विद्यार्थी संगठनहरु भुत्ते बन्दै गएको हो कि भन्ने आशंका उब्जने गरेको छ ।
हरेक स्ववियु निर्वाचनले विद्यार्थी संगठन तथा विद्यार्थी राजनीतिलाई नयाँ ऊर्जा प्रदान गर्ने गर्दछ । विगतमा त्रिभुवन विश्वविद्यालयका आङ्गिक र सम्बन्धन प्राप्त सिमित कलेजमात्र हुँदा स्ववियु निर्वाचनको रौनक बढी नै हुने गर्दथ्यो । राजधानी काठमाडौं तथा काठमाडौं बाहिरका मुख्य शहरमा रहेका आङ्गिक क्याम्पसहरुमा स्ववियु निर्वाचन र त्यसको परिणामलाई राजनीतिक दलहरु समेतले अर्थपूर्णरुपमा लिने गर्दथे । २०६२÷०६३ अघिसम्म मकवानपुर जिल्लामा मकवानपुर बहुमुखी क्याम्पस र वन विज्ञान अध्ययन संस्थानमा स्ववियु निर्वाचन हुने गर्दथ्यो । आज जिल्लाका मकवानपुर बहुमुखी, हेटौंडा, वन विज्ञान, वंशगोपाल बहुमुखी र पालुङ बहुमुखी, निर्मल बहुमुखी, जनप्रिय बहुमुखी र मनहरी बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन हुँदैछ । निर्वाचनका लागि विद्यार्थी संगठनहरुको एकल तथा संयुक्त प्यानलबीच प्रतिस्पर्धा हुँदैछ ।
लामो समयदेखि हुन नसकेको स्ववियु निर्वाचन हुनुलाई सकारात्मक मान्नुपर्छ । विगतमा घोषणा भएर पनि स्थगित हुँदै आएको स्ववियु निर्वाचन यसपटक भने आज नै अधिकांश क्याम्पसमा हुँदैन । सामान्य विवाद देखिएका केही क्याम्पसमा भने केही दिनपछि निर्वाचन हुनेछ । निर्वाचनबाट आगामी दुई वर्षको लागि क्याम्पसहरुमा स्ववियुले आधिकारिकता पाउनेछ । आज हुने निर्वाचन स्वच्छ र निष्पक्ष होस् । स्वच्छ प्रतिस्पर्धाबाट सबै कलेजको स्ववियुले सक्षम र योग्य नेतृत्व पाउनेछ । निर्वाचनमा होमिएपछि हार–जितलाई स्वभाविक मान्नुपर्छ । स्ववियुको नेतृत्व प्राप्त गर्नेहरुले दलीय स्वार्थभन्दा विद्यार्थी हक, हित र क्याम्पसको शैक्षिक, भौतिक विकास ध्यान दिनुपर्छ । अहिले राजनीतिक परिवर्तनका मुद्दाहरु नरहेको हुँदा शैक्षिक बेथिति अन्त्य र विद्यार्थीका समस्या समाधानमा स्ववियु नेतृत्व केन्द्रित हुनुपर्छ ।