एभरेष्ट बैंकको हेटौंडास्थित शाखा बन्द अवस्थामा । तस्वीरः बसन्त भण्डारी/समृद्ध समाज ।

हेटौंडाः चर्को व्याजदरको विरोध गर्दै आन्दोलनरत व्यवसायीको आग्रहमा हेटौंडाका बैंकहरु आज मंगलबार बन्द भएका छन् । यसअघि सोमबार आन्दोलनरत उद्योगी, व्यवसायीले बैंकका शाखा प्रबन्धकलाई ज्ञापनपत्र बुझाएर बैंक बन्द गर्न आग्रह गरेका थिए । व्यवसायीले आइतबारदेखि बैंकमा बचत गर्ने काम पनि रोकेका छन् ।

व्यवसायीको दबाबमा बैंक बन्द हुँदा आम सर्वसाधारण सेवाग्राही भने मर्कामा परेका छन् । बचत रकम झिक्न बैंकको ढोकासम्म आइपुगेका सेवाग्राही आफ्नो पैसा झिक्न नपाई पीडित बनेका छन् । यता मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डे भने बैंक बन्द नभएको र बैंकका शाखा प्रबन्धकले मंगलबार बिहान सुरक्षा व्यवस्था मिलाइदिन आग्रह गर्दै बैंक खुला नै रहने जानकारी गराएको बताउनुहुन्छ ।

सर्वसाधारण नागरिकको आर्थिक कारोबारको अधिकार कुण्ठित हुने गरी व्यवसायीले आन्दोलन गर्दा स्थानीय प्रशासनले भने गम्भीरताका साथ लिएको छैन । नेपाल सरकारको लगानी रहेको हेटौंडास्थित नेपाल बैंक लिमिटेड, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकको कारोबार भने सुचारु छ ।