हेटौंडाः राष्ट्रिय मानसिक स्वास्थ्य स्वावलम्बन संगठनले मकवानपुरका सञ्चारकर्मीहरुलाई मनोसामाजिक स्वास्थ्यबारे अभिमुखीकरण गराएको छ । मनोसामाजिक समस्या विकराल बन्दै गएकाले ‘आशा जगाऔंः जीवन बचाऔं’ भन्ने उद्देश्यले अभिमुखीकरण दिइएको हो ।
कार्यक्रममा विश्व स्वास्थ्य संगठनका मनोसामाजिक डा. अनुप विक्रम बीसीले लामो समयसम्म औषधी सेवन गरिरहेका व्यक्तिदेखि गभर्वती महिलाहरुले समेत मनोसामाजिक समस्या झेल्नुपरेको बताउनुभयो । राष्ट्रिय मानसिक स्वास्थ्य स्वावलम्बन संगठनकी संरक्षक थमकुमारी कुँवरले संस्थाको उद्देश्य र उपलब्धीबारे जानकारी गराउनुभएको थियो ।
राष्ट्रिय मानसिक स्वास्थ्य स्वावलम्बन संगठनकी संगीता खड्काले मनोसामाजिक समस्या न्यूनीकरणमा मिडियाको भूमिकाबारे सहजीकरण गर्नुभएको थियो । सञ्चार माध्यममै प्रकाशित भएको समाचारका कारणले पनि मनोसामाजिक समस्या झेल्नुपरेको खड्काले बताउनुभयो । मनोसामाजिक समस्याका कारण आत्महत्याको बाटो पछ्याउने सम्भावनालाई न्यूनीकरण गर्न मिडियाले जनचेतना जगाउनुपर्ने उहाँको भनाई छ । अहिले मनोसामाजिक समस्या बढ्दै जाँदा आत्महत्याका घटना पनि बढेको भन्दै खड्काले समाचार सम्प्रेषणका क्रममा आचारसंहिताको पालना गर्नुपर्नेमा जोड दिनुभयो ।