फाइल तस्बिरः हेटौंडा उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यालय ।

हेटौंडाः संस्थागत र सामुदायिक विद्यालयका प्रधानाध्यापक (प्रअ)बीच संयुक्त बैठक गरिएको छ । हेटौंडा उपमहानगरपालिका शिक्षा विकास महाशाखाले शुक्रबार विद्यालयको नियमित गतिविधिबारे जानकारी लिन संयुक्तरुपमा बैठक आयोजना गरेको हो ।

बैठकमा वार्षिक परीक्षा सञ्चालन तथा नतिजा प्रकाशन, विपन्नलक्षित छात्रवृत्ति आवेदन फारम सम्बन्धमा छलफल भएको महाशाखाका शिक्षा अधिकृत रमेश बिडारीले जानकारी दिनुभयो । आगामी शैक्षिक सत्रको वार्षिक क्यालेन्डर निर्माण तथा वितरणका विषयमा समेत छलफल भएको उहाँले बताउनुभयो ।

गत वर्षहरुमा विपन्न लक्षित छात्रवृत्ति आवेदन फारम भर्ने विद्यालय तथा विद्यार्थी संख्या न्यून भएका कारण उपमहानगरले बैठकमा छलफल गरेको अधिकृत बिडारीले जानकारी दिनुभयो । बैठकमा उपमहानगरभित्रका करिब ८० वटा विद्यालयका प्रधानाध्यापकहरुको उपस्थिति रहेको थियो ।

हेटौंडा उपमहानगरभित्र ४८ वटा संस्थागत र ७५ वटा सामुदायिक विद्यालय रहेका छन् । संस्थागत विद्यालयको हकमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन मकवानपुरले आगामी चैत ९ गतेदेखि विद्यालयका तहको वार्षिक परीक्षा लिने जनाइएको छ । शिक्षा अधिकृत बिडारीका अनुसार सामुदायिक विद्यालयको हकमा भने नगरस्तरीय शैक्षिक समन्वय समितिले चैत ६ गतेदेखि विद्यालय तहको वार्षिक परीक्षा लिने तय भएको छ ।