तस्बीरः गुगल ।

हेटौंडाः हेटौंडा–१०, न्युरेनीस्थित न्यू कम्बाइन क्लबको आयोजनामा आज शनिबारबाट दोस्रो संस्करणको न्यू कम्बाइन कप फुटबल प्रतियोगिता सुरु हुँदैछ । हेटौंडा–५, पिप्लेस्थित क्याम्पा रंगशालामा शनिबारबाट सुरु हुने प्रतियोगिताको उद्घाटन खेलमा आयोजक न्यू कम्बाइन र हेटौंडा फुटबल एकेडेमी ‘बी’ बीच हुनेछ ।

प्रतियोगिता हेटौंडा–१० का वडाध्यक्ष फुर्वा दोर्जे लामाले उद्घाटन गर्नुहुने क्लबका अध्यक्ष सचिन राईले जानकारी दिनुभयो । शनिबार दिउँसो नै पदमपोखरी फुटबल एकेडेमी र एफसी बस्तीपुरबीच प्रतिस्पर्धा हुनेछ । नकआउट चरणमा हुने प्रतियोगितामा चौकीटोल युवा क्लब, ७ नम्बर फुटबल क्लब, एफसी बसामाडी, न्यू डाँफे क्लब, एफसी इन्टरनेट, हेटौंडा फुटबल एकेडेमी ‘बी’, प्रतिभा युवा क्लब र बागमती प्रदेश प्रहरी गण सहभागी छन् ।

प्रतियोगिताको विजेता टिमले नगद १ लाख रुपैैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टिमले नगद ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद १० हजार रुपैयाँ र अन्य विधागत उत्कृष्ट खेलाडीले नगद ५–५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको फाइनल खेल शुक्रबार हुनेछ ।