हेटौंडा सामुदायिक आँखा अस्पताल ।

हेटौंडाः हेटौंडा सामुदायिक आँखा अस्पतालले स्वास्थ्य बीमा कार्यक्रम कार्यान्वयन गर्ने क्रममा स्वास्थ्य बीमा बोर्डबाट ठूलो रकम भुक्तानी लिन बाँकी देखिएको छ । ठूलो रकम भुक्तानी लिन बाँकी रहँदा अस्पतालको सेवा प्रभावित हुने सम्भावना बढेको अस्पतालले जनाएको छ । अस्पतालले स्वास्थ्य बीमा बोर्डलाई पत्र लेखी बीमाको रकम भुक्तानी गर्न आग्रह गरेको छ ।

दैनिक ५० हजारदेखि एक लाख ५० हजार रुपैयाँ बराबरको स्वास्थ्य सेवा स्वास्थ्य बीमा कार्यक्रममा सहभागी सेवाग्राहीलाई प्रदान गर्दै आएको हेटौंडा सामुदायिक आँखा अस्पतालले गत माघ महिनामा ५२ लाख ८७ हजार रुपैयाँ भुक्तानी प्राप्त गरेको जनाएको छ । बीमा कार्यक्रमका सेवाग्राही बढी आउनुले अस्पतालको आम्दानीको प्रमुख स्रोत पनि स्वास्थ्य बीमा बोर्डबाट प्राप्त हुने रकम नै भएको अस्पतालका प्रमुख डा. सुनिल थकाली बताउनुहुन्छ । तिलगंगा आँखा प्रतिष्ठानको शाखाको रुपमा संचालन भइरहेको अस्पतालले संचालन खर्च आफ्नै आम्दानीको श्रोतबाट जुटाउँदै आएको छ ।

हेटौंडा सामुदायिक आँखा अस्पतालमा आर्थिक वर्ष २०७४/०७५ देखि स्वास्थ्य बीमा कार्यक्रम लागु भएको हो । बीमा कार्यक्रमबाट विपन्न वर्ग लाभान्वित भइरहेको अस्पतालका प्रमुख डा. सुनिल थकालीले उल्लेख गर्नुभएको छ । स्वास्थ्य बीमा बोर्डबाट रकम भुक्तानी नहुँदा अस्पतालको दैनिक सेवा तथा बिरामीको उपचार एवम् शल्यक्रियामा प्रयोग हुने औषधि तथा अन्य सामग्री खरिद गर्न रकम अभाव हुनुका साथै कर्मचारीहरुको तलबको व्यवस्थापन गर्न पनि गाह्रो भइरहेको अस्पतालले जनाएको छ ।

अस्पतालले बोर्डलाई लेखेको पत्रको बोधार्थ हेटौंडा उपमहानगरपालिका, जिल्ला प्रशासन कार्यालय मकवानपुर, बागमती प्रदेशको स्वास्थ्य मन्त्रालय र मुख्यमन्त्रीको कार्यालयलाई पनि पठाएको छ ।