
हेटौंडाः नेपाली काँग्रेस जिल्ला कार्यसमिति मकवानपुरले पार्टीको भातृ संगठन नेपाल विद्यार्थी संघको केन्द्रीय अध्यक्षलाई बर्खास्त गर्न माग गर्दै पार्टी केन्द्रीय कार्यालयसमक्ष माग गरेको छ । बुधबार काँग्रेस मकवानपुरका सभापति बुद्ध लामाले पार्टी केन्द्रीय सभापति शेरबहादुर देउवासमक्ष नेविसंघका केन्द्रीय अध्यक्ष दोजाङ शेर्पालाई तत्काल बर्खास्त गर्न माग गर्दै पत्र पठाएको हो ।
पत्रमा भनिएको छ ‘अहिले नेविसंघका केन्द्रीय अध्यक्ष शेर्पाले काँग्रेस जिल्ला कार्यसमितिले नेविसंघ केन्द्रीय कार्यसमितिलाई सर्वसम्मतरुपमा सिफारिश गरेको अध्यक्षसहितको कार्यसमितिको बर्खिलापमा क्याम्पसहरुको स्ववियु निर्वाचनमा नेविसंघलाई असफल बनाउने भूमिकाका साथ मकवानपुर जिल्लामा नेविसंघको साधारण सदस्यसमेत नरहेको र नेविसंघको कुनैपनि गतिविधिमा संलग्न नभएको व्यक्तिलाई दबाब र प्रभावमा परी अध्यक्ष बनाइएको कुरा सामाजिक सञ्जालहरुमा देखिन आएकाले नेपाली कांग्रेस जिल्ला कार्यसमिति मकवानपुरको गम्भीर ध्यानाकर्षण भएको छ ।”
नेपाली कांग्रेस मकवानपुरले सर्वसम्मतरुपमा सिफारिश गरेको नेविसंघ मकवानपुरका अध्यक्ष सुवास सापकोटा नै आधिकारिक अध्यक्ष रहेको पूनः स्मरण गराउँदै नेविसंघ मकवानपुरलाई कमजोर बनाउने भूमिकामा लाग्नुभएका नेविसंघका केन्द्रीय अध्यक्ष दोजाङ शेर्पालाई तत्काल बर्खास्त गर्न अनुरोध गर्दछौं । अहिले नेविसंघ जिल्ला अध्यक्ष सुवास सापकोटाको नेतृत्वमा पहिलो चरणको स्ववियु निर्वाचन सम्बन्धी गतिविधि संचालन गरी मकवानपुर जिल्लाबाट स्ववियु निर्वाचनमा प्रतिनिधित्व गर्ने मकवानपुरका ८ वटै कलेजमा संगठन दर्ता समेत भइसकेको जनाएको छ । यस्तै कांग्रेस जिल्ला कार्यसमितिले पार्टीको तर्फबाट जिल्ला सहसचिव ईन्दिरा न्यौपानेको संयोजकत्वमा पाँच सदस्यीय स्ववियु परिचालन समितिसमेत गठन गरिसकेको जनाएको छ ।










