हेटौंडाः हेटौंडा–७, नागश्वतीमा एकदिने स्त्रीरोगसम्बन्धी निःशुल्क स्वास्थ्य परीक्षण हुने भएको छ । नागश्वती सहरी स्वास्थ्य केन्द्र र हेटौंडा उपमहानगरपालिका–७ को संयुक्त आयोजना तथा सुनौलो भविष्य नेपाल हेटौंडाको प्राविधिक सहयोगमा भोलि शुक्रबार एकदिने स्त्रीरोगसम्बन्धी निःशुल्क स्वास्थ्य परीक्षण शिविर हुने भएको हो ।
निःशुल्क स्वास्थ्य परीक्षणमा हेटौंडा अस्पतालका स्त्री तथा प्रसुती स्वास्थ्य विशेषज्ञ डा. ज्योति मुडभरीबाट सेवा प्रदान गरिने हेटौंडा–७ का वडा अध्यक्ष दामोदर गौतमले बताउनुभयो । स्वास्थ्य परीक्षणमा महिलाहरुमा हुने पाठेघर तथा स्तन क्यान्सर परीक्षण, परिवार नियोजनको अस्थायी साधनहरुको प्रयोग विधि बारे सेवा प्रदान गरिने नागश्वती सहरी स्वास्थ्य केन्द्रका प्रमुख केशव तिमल्सिनाले बताउनुभयो ।
त्यस्तै गर्भवती महिलाहरुका लागि फिस्टुला तथा फिसरको उपचार, भिडियो एक्स–रे सेवा, ल्याब सेवा प्रदान गरिनुका साथै महिलाहरुमा स्वास्थ्य परीक्षण अनुसार औषधि वितरण गरिने तिमल्सिनाले बताउनुभयो ।










