हेटौंडाः निर्वाचन आयोगको बागमती प्रदेश कार्यालयले मकवानपुरमा मतदाता नामावली अद्यावधिक (दावी–विरोध समेत) कार्यक्रम गर्ने भएको छ । आइतबार जिल्ला प्रशासन कार्यालय मकवानपुरको सभाहलमा भएको अन्तरक्रियामा मतदाता नामावली अद्यावधिक गर्ने विषयमा जानकारी दिनुहुँदै बागमती प्रदेश निर्वाचन आयोगका प्रमुख लुम्बनाथ पोखरेलले फागुन २२ गतेदेखि जिल्लाभित्रका सबै पालिकाका वडा तहसम्म कार्यक्रम संचालन गरिने बताउनुभयो ।

एकै पटक धेरै जनाको मतदाता नामावली संकलन गर्ने गरी कार्यक्रमको आयोजना गरिएको प्रमुख पोखरेलले बताउनुभयो । निर्वाचन आयोग र जिल्ला प्रशासन कार्यालयबाट नियमित संचालन भइरहेको नामावली संकलन भने चल्नेछ । फागुन २२ गते सुचना तथा नामावली प्रकाशन, २३ गतेदेखि २५ गतेसम्म मतदाता नामावलीमा रहेको त्रुटी सच्याउन सम्बन्धित प्रमुख नाम दर्ता अधिकारीको कार्यालयमा दिने, २३ गतेदेखि २५ गतेसम्म नै मतदाता नामावलीमा कसैले झुटा विवरण दिई नामावलीमा नाम समावेश गरेको भए सोमाथि उजुरी दिन सक्ने जनाएको छ ।

यहि अवधिमा मतदाताको नाम एकभन्दा बढी स्थानमा समावेश भएमा आयोगमा निवेदन दिन सक्ने, मतदाता नामावलीमा मृत्यु भएका वा नागरिकता त्याग गरेका मतदाताको नाम नामावलीबाट हटाउने, २८ गते परेका निवेदन बमोजिम जाँचबुझ गरी प्रमुख नाम दर्ता अधिकारीले त्रुटी सच्याउने जनाएको छ । यस्तै मकवानपुरका प्रमुख जिल्ला अधिकारी एवम् जिल्ला निर्वाचन व्यवस्थापन समितिका संयोजक राजेन्द्रदेव पाण्डेले सबै राजनीतिक दलले कार्यक्रममा समन्वय गरिदिनुपर्ने बताउनुभयो । टोलटोलमा मतदाता शिक्षालाई प्रभावकारी बनाउन समन्वय गरेर जे नाम छ त्यही अद्यावधिक गरिदिन सुझाव दिनुभयो । अहिलेको कार्यक्रमले उपचुनाव भए सघाउ पुग्ने उहाँले बताउनुभयो । कार्यक्रमले आउने निर्वाचन मतदाताको उलेख्य सहभागी हुन सहयोग पुग्ने उहाँले बताउनुभयो । मकवानपुरमा गत मंसिरमा सम्पन्न प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा ३ लाख ७ सय ३३ मतदाता रहेकोमा १ लाख ७८ हजार मात्र मत खसेको थियो । खसेको मतमध्ये करिब ३१ हजार मत बदर भएको थियो ।