विद्यार्थीलाई पुरस्कृत गर्नुहुँदै शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरका प्रमुख दिनानाथ गौतम ।

हेटौंडाः हेटौंडा–११ स्थित आनन्द भैरव आधारभूत विद्यालयको विद्यालय व्यवस्थापन समिति सदस्य सर्वसम्मत चयन गरिएको छ । सोमबार सम्पन्न विद्यालयको ३५ औं स्थापना दिवस तथा अभिभावक भेलाले विद्यालय व्यवस्थापन समितिमा ४ जना सदस्यहरु सर्वसम्मत चयन गरेको छ । अभिभावकबाट सदस्यमा राम बहादुर थोकर, सरिता वाईबा, राधिका अगस्ती र बिमला मगरलाई चयन गरिएको आनन्द भैरव आधारभूत विद्यालयका प्रधानाध्यापक कृष्ण खनालले जानकारी दिनुभयो ।

विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष प्रकाशचन्द्र पाण्डेको सभाध्यक्ष तथा शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरका प्रमुख दिनानाथ गौतमको प्रमुख आतिथ्यमा अभिभावक भेला भएको हो । भेलालाई सम्बोधन गर्नुहुँदै प्रमुख गौतमले भौतिक पूर्वाधार पूर्ण रहेको अवस्थामा गुणस्तरीय शिक्षालाई जोड दिन आग्रह गर्नुभयो । उहाँले शिक्षा प्रविधिमैत्री भएमात्र शैक्षिक सुधार हुने धारणा राख्नुभयो । शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरले गुणस्तरीय शिक्षा तथा प्रविधिमैत्री शिक्षाका लागि आवश्यक सहयोग गरिने प्रतिबद्वता जनाउनुभयो । यसैगरी भेलामा २०७८ को शैक्षिक सत्रमा कक्षागत रुपमा प्रथम, द्वितीय र तृतीय हुने कक्षा १ देखि ८ सम्मका विद्यार्थीलाई पुरस्कृत गरिएको छ ।

आनन्दभैरव आधारभूत विद्यालयका शिक्षक, कर्मचारीका साथमा कार्यक्रममा अतिथिहरु ।

प्रधानाध्यापक खनालका अनुसार विद्यालयको स्थापना दिवसमा आयोजित अतिरिक्त क्रियाकलापमा उत्कृष्ट हुने विद्यार्थीलाई पनि स्टेशनरी सामग्रीसहित पुरस्कृत गरिएको छ । हाजिरीजवाफ प्रतियोगिता, बेलुन फुटाई, गणित दौड, हस्तलेखनमा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कृत गरिएको छ । घट्दो विद्यार्थी संख्यालाई बढाउन पहल गर्नुपर्नेमा सहभागीले सुझाव दिएका छन् । आनन्दभैरवमा एक सय ५२ जना विद्यार्थी अध्ययनरत् छन् । भेलामा हेटौंडा–११ का वडाध्यक्ष जुना दाहाल र हेटौंडा उपमहानगरपालिकाका शिक्षा विकास महाशाखा प्रमुख गंगाधर रिमालको विशिष्ट आतिथ्य रहेको थियो । सोही अवसरमा कक्षा १ देखि ५ सम्मका विद्यार्थीलाई वडास्तरीय शैक्षिक सुधार कार्यक्रम अन्तर्गत शैक्षिक सामग्री समेत वितरण गरिएको छ । वडाध्यक्ष दाहालले ९५ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्नुभएको प्रधानाध्यापक खनालले बताउनुभयो ।