प्रथम स्थान हासिल गर्न सफल विद्यार्थी ।

हेटौंडाः हेटौंडामा शुक्रबार भएको नगरस्तरीय आधारभूत तह गणित विषयको हाजिरीजवाफ प्रतियोगितामा हेटौंडा–२ स्थित बालजागृति इंग्लिस सेकेण्डरी स्कूल प्रथम भएको छ ।

हेटौंडा उपमहानगरका सामुदायिक तथा संस्थागत विद्यालय गरी ३० वटा विद्यालयको सहभागिता रहेको प्रतियोगितामा हेटौंडा–१८, हर्नामाडीस्थित ज्योति मावि द्वितीय तथा हेटौंडा–५, पिप्लेस्थित बालज्योति मावि तृतीय भएको छ । गणित शिक्षा परिषद् हेटौंडा नगर कार्यसमितिको आयोजना तथा हेटौंडा उपमहानगरपालिकाको शिक्षा विकास महाशाखाको प्रायोजनमा हाजिरीजवाफ प्रतियोगिता भएको हो ।

पुरस्कार वितरणपछि खिचिएको सामूहिक तस्वीर ।

बालजागृतिबाट युनिक ढुङ्गेल र सेलिना लामा, ज्योति माविबाट प्रशान्त गोले र प्रतिष्ठा श्रेष्ठ, बालज्योति माविबाट पूर्णिमा घिमिरे र अस्मिता घिमिरे सहभागी थिए । हेटौंडा–१६, हटियास्थित जनप्रिय माविमा गणित शिक्षा परिषद् हेटौंडा उपमहानगर समितिका संयोजक भूपेन्द्र चौलागाईको अध्यक्षता तथा हेटौंडा उपमहानगरपालिकाको सामाजिक विकास समितिका संयोजक रामकृष्ण कोईरालाको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा महाशाखा प्रमुख गंगाधर रिमालको पनि उपस्थिति रहेको थियो । प्रतियोगितासँगै गणित विषय शैक्षिक सामग्री प्रदर्शनी समेत सम्पन्न भएको थियो ।

हाजिरीजवाफ प्रतियोगितामा शिक्षकहरु मानव घलान, रामकृष्ण विक र नवराज दुलालले सहजीकरण गर्नुभएको थियो भने गणित विषय शैक्षिक सामग्री प्रदर्शनीमा विद्यार्थीले शैक्षिक सामग्री प्रदर्शन गरेका थिए । सहभागीहरुले जनप्रिय माविमा स्थापना भएको गणित विषय प्रयोगशालाको अवलोकन गरेका थिए ।