हेटौंडाः वकिलहरुको संस्था उच्च अदालत बार एसोसिएसन हेटौंडाको अध्यक्षमा मनप्रसाद भट्टराई र अरुण कुमार खतिवडा आकांक्षी देखिनुभएको छ । शुक्रबारबाट सुरु भएको निर्वाचन प्रक्रियामा भट्टराई र खतिवडाले उम्मेदवारी दर्ता गराउनुभएको छ । भट्टराई नेकपा एमाले निकट वकिल समूहको उम्मेदवार हुनुहुन्छ भने खतिवडा माओवादी र काँग्रेस गठबन्धनको उम्मेदवार हुनुहुन्छ ।
निर्वाचन समितिले शनिबार बिहान ८ बजेसम्म उम्मेदवारी फिर्ता दिने समय निर्धारण गरेको छ । सहमतिको सम्भावनालाई ध्यान दिएर उम्मेदवारी फिर्ताको पर्याप्त समय राखिएको निवर्तमान अध्यक्ष सुशील कुमार पोखरेलले जानकारी दिनुभएको छ । शनिबार बिहानसम्म सर्वसम्मतको सम्भावना नभए उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरी निर्वाचनको प्रक्रिया अगाडि बढाइने बताइएको छ ।
बारको सचिवमा भने श्रद्धा ढुंगाना र महिला सदस्यमा रिना प्याकुरेल सर्वसम्मत निर्वाचित हुनुभएको छ । यस्तै भट्टराई प्यानलबाट उपाध्यक्षमा प्रमिला केसी, कोषाध्यक्षमा निरल मैनाली, सहसचिवमा ज्योति घिमिरेले उम्मेदवारी दर्ता गराउनुभएको छ । यस्तै खतिवडा प्यानलबाट उपाध्यक्षमा हरिप्रसाद भट्ट, कोषाध्यक्षमा सम्पत काफ्ले, सहसचिवमा रमा चौलागाईले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
कार्यसमिति सदस्यमा ८ जनाको उम्मेदवारी परेको छ । सदस्यमा ज्ञानेश्वर फुयाल, कृष्ण प्रसाद अर्याल, दिपेन्द्र बानियाँ, सुवासचन्द्र अधिकारी, मोहनप्रसाद ढकाल, सुजन तिमल्सिना, श्रीराम दाहाल र कृष्णप्रसाद खतिवडाको उम्मेदवारी परेको छ । कार्यसमिति सदस्यमा खुलातर्फ ७ जना रहने व्यवस्था छ । यस्तै केन्द्रीय पार्षदमा ३ जना आवश्यक हुनेमा ४ जनाको उम्मेदवारी परेको छ । केन्द्रीय पार्षदमा मोहनप्रसाद भट्टराई, शुभलक्ष्मी श्रेष्ठ, रामकृष्ण देउला र एकनारायण शर्मा पौडेलको उम्मेदवारी परेको छ । पुनरावेदन बारमा ५८ जना सदस्य छन् ।
यसअघि शुक्रबार बिहान निवर्तमान अध्यक्ष सुशील कुमार पोखरेलको अध्यक्षता तथा पुनरावेदन अदालत हेटौंडा इजलासका मुख्य न्यायाधीश अब्दुल अजिज मुसलमानको प्रमुख आतिथ्यमा साधारणसभा तथा अधिवेशनको उद्घाटन कार्यक्रम भएको थियो । उद्घाटन कार्यक्रममा उच्च अदालतका न्यायाधीशहरु राजेश्वर तिवारी, मेरिना श्रेष्ठ, मकवानपुर जिल्ला अदालतका न्यायाधीश ऋषिराम निरौलाको पनि आतिथ्य रहेको थियो ।











