हेटौंडाः रेडियो मकवानपुरको १३ औं वार्षिकोत्सवमा सप्ताहव्यापी कार्यक्रमको आयोजना गरिएको छ । आज सोमबारबाट १३ औं वर्षमा प्रवेश गरेको रेडियोले सप्ताहव्यापी कार्यक्रमको आयोजना गरी वार्षिकोत्सव मनाउन लागेको हो ।
आज रेडियोमै सहिद दिवसको सन्दर्भमा रचना वाचन तथा अन्तरक्रिया, १७ गते हेटौंडा–१७ स्थित श्रीमद् भागवत ज्ञान सञ्चार बृद्धाश्रममा खाद्यान्न सहयोग, १८ गते रेडियो परिसरमै रक्तदान, १९ गते बालअधिकार विषयक विद्यालयस्तरीय कविता प्रतियोगिता हुनेछ । यस्तै २० र २१ गते रेडियो मकवानपुर कप फुट्सल प्रतियोगिता, २१ गते शनिबार मनहरी गाउँपालिका ४ मा बृहत निशुल्क स्वास्थ्य शिविर र २२ गते वार्षिकोत्सव समापन, दुईजनालाई सामुदायिक सम्मान र पुरस्कार वितरण कार्यक्रम हुनेछ ।
कविता प्रतियोगिताको विजेता विद्यार्थीले क्रमशः नगद १० हजार, ७ हजार र ५ हजारसहित प्रमाणपत्र प्राप्त गर्नेछन् । रेडियो मकवानपुर कप फुट्सलको विजेता र उपविजेतालाई नगदसहित पुरस्कारको व्यवस्था रहेको जनाइएको छ । रेडियोले वार्षिकोत्सवको अवसरमा दुईजनालाई जनही नगद १० हजारसहित सामुदायिक सम्मान र तीजको सन्दर्भमा दुई महिलालाई जनही नगद १० हजार रुपैयाँसहित जागरुक महिला सम्मान प्रदान गर्दै आएको छ ।