हेटौंडाः स्वतन्त्र पत्रकार संघ मकवानपुरको आयोजनामा आइतबार पत्रकार र क्रिकेट खेलका पदाधिकारी, खेलाडीबीच अन्तरक्रिया भएको छ । कार्यक्रममा क्रिकेट खेलको नियम, विषयवस्तु र समाचार लेखनमा ध्यान दिनुपर्ने विषयहरुमा छलफल गरिएको छ । कार्यक्रममा मकवानपुर क्रिकेट संघका कार्यवाहक सचिव समेत रहनुभएका राष्ट्रिय एम्पायर बिनोद बानियाँले क्रिकेटको नियम र क्रिकेटको स्कोर कार्डको विषयमा सहजीकरण गर्नुभएको थियो ।
उहाँले क्रिकेटको विषयमा सामान्य ज्ञानको अभावमा समाचारमा त्रुटी हुने गरेको बताउनुभयो । उहाँले क्रिकेटको राष्ट्रिय र अन्तर्राष्ट्रिय नियमका विषयमा सामान्य जानकारी गराउनुभएको थियो । यस्तै, मकवानपुर क्रिकेटका उपकप्तान राम नरेश गिरीले आफ्नो अनुभव साट्दै सुरुमा पढ्न अल्छी लाग्ने र समाचारमा अरुको फोटोहरु देखेर क्रिकेट खेलतर्फ आकर्षित भएको स्मरण गर्नुभयो । उहाँले भन्नुभयो, “मैले अण्डर–१९ विश्वकप क्रिकेट खेल्दा पनि धेरैलाई जानकारी नै थिएन । पछि मकवानपुर क्रिकेट संघले पत्रकार सम्मेलन गरेपछि मात्रै समाचारमा आउन थाल्यो । त्यसपछि मात्रै समाचारको प्राथमिकतामा परेको थिएँ ।”
उहाँले क्रिकेटमा उत्कृष्ट खेल खेल्दा पनि आफ्नो नाम समाचारमा नआउने स्मरण गर्नुभयो । समाचारमा आफ्नो नाम गलत आउने, खेलाडी भनेर कमैले मात्र चिन्ने अवस्था रहेको भन्दै उहाँले समाचारमा प्राथमिकतामा परेपछि सबैले चिन्न थालेको बताउनुभयो । खेलाडी र पत्रकारबीचको समन्वयको अभावमा पनि समाचारमा ओझेलमा पर्ने गरेको उहाँले स्वीकार गर्नुभयो ।
त्यसैगरी मकवानपुर क्रिकेट संघका अध्यक्ष बासुलाल श्रेष्ठले क्रिकेट प्रतियोगिताको लागि खेलमैदानको अभाव रहेको जानकारी दिनुभयो । उहाँले प्रतियोगिताहरु संचालन गर्न आर्थिक समस्या हुने गरेको बताउनुभयो । क्रिकेटसँग सम्बन्धित धेरै विषयवस्तु भएकोले एक दिवसीय कार्यक्रम आवश्यक रहेको उहाँले बताउनुभयो । उहाँले खेलकुदमा मकवानपुर धेरै अगाडि बढेको भएपनि सबैको नजरमा पछाडी परेको धारणा राख्नुभयो । कार्यक्रममा प्रेस युनियन मकवानपुरका अध्यक्ष कुमार अधिकारीले खेलकुदमा चासो भएपनि धेरै नियमहरुको बारेमा जानकारी नभएको बताउनुभयो । यसले समाचार लेखनमा समेत समस्या हुने गरेको उहाँले बताउनुभयो ।
स्वतन्त्र पत्रकार संघ मकवानपुरका अध्यक्ष गोकुल अधिकारीको सभाध्यक्षता तथा मकवानपुर क्रिकेट संघका अध्यक्ष बासुलाल श्रेष्ठको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नेपाल पत्रकार संघ मकवानपुरका अध्यक्ष मणिराज गौतमले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा स्वतन्त्र पत्रकार संघ मकवानपुरका संस्थापक अध्यक्ष सुरेश श्रेष्ठ, प्रेस सेन्टर मकवानपुरकी अध्यक्ष अञ्जली थापा लगायत संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।