हेटौंडाः बागमती प्रदेशसभाको मंगलबार बसेको बैठकमा प्रदेशसभा सदस्यहरुले प्रदेश सरकारको स्थायित्वका लागि मुख्यमन्त्रीलाई समर्थन गरेको बताएका छन् । बैठकमा मुख्यमन्त्री शालिकराम जमकट्टेलले पेश गर्नुभएको विश्वासको मत प्राप्त गर्ने प्रस्तावमाथि छलफलमा सहभागी प्रदेशसभा सदस्यहरुले सरकारको स्थायित्व र विकासका लागि मुख्यमन्त्रीलाई समर्थन गरेको बताएका हुन् ।
प्रदेश सरकारको सकारात्मक काममा सहकार्य र सहमतिमा गर्न तयार रहेको उनीहरुले स्पष्ट पारेका छन् । मुख्यमन्त्री शालिकराम जमकट्टेलले विश्वासको मत माग्न पेश गर्नुभएको प्रस्तावमाथिको छलफलमा सहभागी हुँदै नेपाली कांग्रेस संसदीय दलका नेता बहादुर सिंह लामाले सरकारको आकृति देखेर नागरिक अचम्मित भएको बताउनुभयो । उहाँले संघीयता खारेज गर्छु भन्ने नै सरकारको पक्षमा उभिएको आरोप लगाउनुभयो ।
उहाँले सत्ता प्राप्तिको लागि मात्रै फालिएको अस्त्र हो कि भन्ने आशंका व्यक्त गर्नुभयो । नेपाली कांग्रेस आवेग र उत्तेजनामा होइन, चेतनामा चल्ने पार्टी रहेको भन्दै जनताप्रति उत्तरदायी भएर काम गर्न अनुरोध गर्नुभएको छ । उहाँले नेपाली कांग्रेसले प्रदेश सरकारको कार्य सम्पादन र कार्यशैलीको आधारमा आलोचना गर्ने नीति लिएको स्पष्ट पार्नुभयो ।
उहाँका अनुसार संविधानको रक्षा र कार्यान्वयन सदनको प्रमुख जिम्मेवारी हो । प्रदेश सरकारले इमान्दारीपूवर्क काम गर्नुपर्ने उहाँको भनाई छ । सरकारको काम कारबाही सहमति र सहकार्यको जगमा टेकेर हुनेछ भन्ने विश्वास लामाले व्यक्त गर्नुभयो । भ्रष्टाचार उन्मूलन, तीब्र विकास र जनताको अपेक्षाअनुसार सरकार गठन गरी सरकारलाई सदनप्रति जवाफदेही बनाउनेतर्फ ध्यान दिन उहाँले आग्रह गर्नुभएको छ ।
नेपाली कांग्रेसले तत्कालका लागि सरकारलाई समर्थन गरेपनि नियमित निगरानी राख्ने कांग्रेस संसदीय दलका नेता लामाले स्पष्ट पार्नुभयो । नेपाली कांग्रेस सरकारमा सहभागी नहुने र प्रमुख प्रतिपक्षको भूमिकामा रहने जानकारी उहाँले दिनुभयो । कांग्रेसले गुण र दोषको आधारमा सरकारलाई समर्थन गर्ने लामाले बताउनुभयो । प्रदेश सरकारको औचित्य पुष्टिका लागि नेपाली कांग्रेसले मतदान गर्ने निर्णय गरेको उहाँले जानकारी गराउनुभयो । उहाँका अनुसार संविधानको रक्षा, लोकतन्त्रको रक्षा र स्थिर सरकारका लागि अहिलेको सरकारलाई समर्थन गरिएको हो ।
यस्तै, नेकपा एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले सन्तुलित विकासका निम्ति मुख्यमन्त्रीलाई समर्थन गर्ने बताउनुभयो । उहाँले प्रदेशसभामा सहभागी सबैले मुख्यमन्त्रीलाई समर्थन गर्न अनुरोध गर्नुभएको थियो । माओवादी केन्द्रको तर्फबाट युवराज चौलागाईंले विश्वासको मत प्रदान गर्न अनुरोध गर्नुभयो । स्थायित्व, विकास र संघीयताको औचित्यता पुष्टि गर्नु आवश्यक रहेको भन्दै विश्वासको मत दिन अनुरोध गर्नुभएको थियो । संघमा बसेर काम गरिसकेको अनुभव पनि भएका र मजदुर आन्दोलनमा छवी बनाउनु भएका व्यक्ति मुख्यमन्त्रीमा पाएको उहाँले जानकारी दिनुभयो । मुख्यमन्त्री जमकट्टेलको नेतृत्वमा प्रदेश सरकार बलियो र उत्कृष्ट बन्ने विश्वास थपलियाले व्यक्त गर्नुभयो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट कुमारी तामाङले समर्थन गर्ने निर्णय भइसकेको भन्दै उहाँले राप्रपाको तर्फबाट समर्थन रहने जानकारी गराउनुभयो । उहाँले मुख्यमन्त्रीले पार्टीभन्दा माथि रहेर काम गर्नुहुने विश्वास व्यक्त गर्नुभयो । नेकपा एकीकृत समाजवादीको तर्फबाट कृष्णप्रसाद शर्मा खनालले रचनात्मक सहकार्य गर्न तयार रहेको भन्दै मुख्यमन्त्रीलाई विश्वासको मत दिने जानकारी गराउनुभयो । उहाँले प्रदेश संरचनाको स्थायित्वका लागि समर्थन गरिएको बताउनुभयो । उहाँले प्रदेशमा सबल र सुदृढ सरकार निर्माण गर्ने अपेक्षासहित समर्थन गरिएको स्पष्ट पार्नुभयो । जनताको आशा र भरोसा विपरित काम गरेमा विश्वासको मत फिर्ता लिने उहाँले चेतावनीसमेत दिनुभएको छ । विश्वासको मत खबरदारीको मत पनि भएको उहाँको भनाइ छ ।
त्यसैगरी, नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सुरेन्द्रराज गोसाईले अघिल्लो ५ वर्षमा पनि नेमकिपा प्रतिपक्षको रुपमा रहेको भन्दै अहिले पनि प्रतिपक्षमा बस्ने जानकारी दिनुभयो । देश र जनताको हितबाहेक अरु आशा नभएको भन्दै उहाँले सरकारको काम जनताको आँखाबाट हेर्ने स्पष्ट पार्नुभयो । नेमकिपा प्रतिपक्षमा बसेर आलोचक बन्ने धारणा उहाँले राख्नुभयो । संविधानले प्रतिपक्षविहीन संसद कल्पना गरेको छैन भन्दै नेमकिपा प्रतिपक्षको आवाज बन्ने गोसाईले स्पष्ट पार्नुभयो । मुख्यमन्त्री शालिकराम जमकट्टेलले सबैसँग सहकार्य गरेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । सबै राजनीतिक दलको विचारलाई उच्च सम्मान गर्दै सुशासनपूर्ण प्रदेश निर्माण गर्ने प्रतिबद्धता मुख्यमन्त्री जमकट्टेलले जनाउनुभयो ।