नेपाल बहुजाति, बहुभाषी र बहुधार्मिक देश हो । नेपालमा धेरै जातजाति रहेका कारण यहाँ धेरै प्रकारका चाडपर्व मनाउने गरिन्छ । विभिन्न जातजाति र समुदाय विशेषको चाडपर्वहरु राष्ट्रिय पर्वको रुपमा मनाउने गरिन्छ । यस्तै चाडमध्येको एउटा चाड हो माघे संक्रान्ति । माघे संक्रान्ति अर्थात् माघ महिनाको पहिला दिनलाई मकर संक्रान्ति, तिला (तिलुवा) संक्रान्ति, माघीको नामबाट पनि चिन्ने गरिन्छ । माघे संक्रान्तिलाई थारु समुदायले माघीको रुपमा मनाउने गरेका छन् । यसै दिन उनीहरुले नयाँ वर्ष मान्ने गर्दछन् । किराँत समुदायले पनि यस दिनलाई नयाँ वर्षको रुपमा मनाउने गरेको पाइन्छ । माघे संक्रान्ति बाहुन, क्षेत्री, थारु, गुरुङ, मगर, राई, लिम्बु, नेवारलगायत सबै समुदायका लागि आ–आफ्नै विशेष महत्वको दिन हो । माघे संक्रान्तिको धार्मिकरुपमा मात्र नभई सांस्कृतिकरुपमा समेत विशेष महत्व छ ।

माघ मध्ये हिँउदको एउटा महिना हो । ज्योतिष शास्त्रअनुसार सौर तिथिको हिसाबले माघे संक्रान्तिको दिनदेखि सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गर्दछ । आजकै दिनदेखि सूर्य उत्तरायण हुने गर्दछ । सामान्यतया सूर्यले सबै राशीलाई प्रभाव पार्ने भए पनि सूर्यको कर्कट राशि (साउने संक्रान्ति) र मकर राशि (माघे संक्रान्ति) प्रवेशलाई धार्मिक दृष्टिले महत्वपूर्ण मानिन्छ्र । माघे संक्रान्तिको दिनदेखि सूर्य दक्षिणी गोलाद्र्धबाट उत्तरी गोलाद्र्धतर्फ प्रवेश गर्ने भएकोले दिन लामो र रात छोटो हुँदै जाने विश्वास गरिन्छ । भविष्यपुराण, विष्णुवचन तथा धर्मसिन्धु नामक ग्रन्थमा यस दिन स्नान गरी घिउ, चाकु, तिलको लड्डु, सागपात, तरुल, वस्त्र, पानीको भाँडो र मकलसहितको सिदा दान गरेमा विशेष फल प्राप्त हुने र उक्त पदार्थ आफूले पनि खाएमा शरीर पोषिलो हुनुका साथै निरोगी भइने उल्लेख छ । शिशिर ऋतुमा पर्ने यो संक्रान्तिमा शरीर शुद्ध गरी घिउ, चाकु र तिल तथा खिचडी खानाले शरीरमा गर्मीका मात्रा बढेर तागत दिने तथा मास हाली पकाइएको तेल शरीरमा घस्दा चिसोबाट मुक्त भई शरीरका छालासम्बन्धी र अन्य रोग नाश हुने विश्वास गरिन्छ ।

माघे संक्रान्तिका अवसरमा मुलुकका विभिन्न क्षेत्रमा विशेष मेला लाग्ने गर्दछ । यस दिन विभिन्न नदी, घाट तथा त्रिवेणीमा स्नान गरी पूजाआजा गरिन्छ । यस्ता ठाउँमा स्नान, दान, श्राद्ध आदि गर्नेको ठूलो भिड लाग्छ । माघे संक्रान्तिको दिन चितवन र तनहुँमा पर्ने देवघाटमा ठूलो मेला लाग्दछ । सुनसरीको बराहक्षेत्र, गुल्मीको रुरुक्षेत्र (रिडी), काभ्रेको पनौती र दोलालघाटमा पनि मकर संक्रान्ति मेला लाग्ने गर्दछ । हेटौंडाको कुश्माण्डधाम त्रिवेणीमा माघ महिनाभर मकरस्नान मेला लाग्ने गर्दछ । छिमेकी देश भारतको प्रयाग र गङ्गासागरलगायत क्षेत्रमा पनि मकर संक्रान्ति मेला लाग्दछ । भौगोलिक, जातीय र सांस्कृतिक विविधता रहेको नेपालमा एकै दिन पर्ने र एउटै नामको पर्वलाई पनि भिन्नभिन्न भेग र समुदायमा भिन्नभिन्न ढंगले मनाउने प्रचलन छ । यसको उदाहरण माघे संक्रान्ति पर्व हो । माघे संक्रान्ति पर्व आम नेपाली जनजीवनका लागि बहुसांस्कृतिक सह–अस्तित्वको पहिचानका रुपमा विकास हुँदै आएकोले यस चाडको महत्व बढेको छ ।

हरेक चाडपर्वको आ–आफ्नै विशेषता र महत्व हुन्छन् । देशको सबै भूभागका सबै जातजातिले माघे संक्रान्ति पर्व आ–आफ्ना परम्परा, चालचलनअनुसार मनाउने गर्दछन् । यसैकारण पनि यस पर्वको विशेषता फरक फरक पाइन्छ । माघे संक्रान्ति पर्वका दिन नेपाल सररकाले देशभर सार्वजनिक विदा पनि दिएको छ । माघे संक्रान्ति पर्व आम नेपाली जनजीवनका लागि बहुसांस्कृतिक सह–अस्तित्वको पहिचानका रुपमा समेत विकास हुँदै गएको छ । यसैले यस्ता चाडपर्वको महत्व दिनप्रतिदिन बढ्दै गएको छ । यस्ता चाडपर्वलाई मर्यादित र सुखमय बनाउनु सबै नेपालीको कर्तव्य हुन्छ । माघे संक्रान्ति अर्थात् माघी पर्वले सबै नेपालीमा सुख, शान्ति, समृद्धि ल्याउन सकोस् । सबैलाई माघे संक्रान्तिको शुभकामना ।