हेटौंडाः हेटौंडा सामुदायिक आँखा अस्पतालले २ वर्षपछि आँखाको नानी संकलन गरेको छ । कोभिड–१९ को महामारीका कारण मृतकको आँखाको नानी संकलन गर्ने कार्य रोकिएको थियो । बिहीबार हेटौंडा–९ का ७९ वर्षीय विचारी प्रसाद महर्जनको आँखाको नानी संकलन गरिएको हो ।
महर्जनका छोरा सुमित महर्जनले परिवारकोे ईच्छा अनुसार बुबाको मृत्युपछि आँखा दान गरिएको बताउनुभयो । बुबाले पहिलेदेखि नै आँखाको नानी दान गर्ने ईच्छा गर्नुभएको उल्लेख गर्नुहुँदै हेटौंडा सामुदायिक आँखा अस्पतालसँग समन्वय गरेर बुबाको ईच्छा पूरा गरेको छोरा सुमितले बताउनुभयो । चिकित्सकले हेटौंडा–१० स्थित गोरक्षेश्वरधाम नजिकै राप्तीतटमै पुगेर नानी संकलन गरेको हो ।
हेटौंडा सामुदायिक आँखा अस्पतालमा पहिलोपटक हेटौंडा–४ खोपेगल्लीका रामकृष्ण श्रेष्ठको नानी संकलन गरिएको थियो । हालसम्म १७ जनाको आँखाको नानी संकलन गरिसकिएको छ । हेटौंडामा संकलित नानी काठमाडौंस्थित तिलगंगा आँखा अस्पताल पठाइने हेटौंडा सामुदायिक आँखा अस्पतालका वरिष्ठ प्रशासकीय अधिकृत सुधीर श्रेष्ठले जानकारी दिनुभएको छ ।











