सिलाई मेसिन हस्तान्तरण गर्नुहुँदै हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मिना कुमारी लामा ।

हेटौंडाः दैनिक जिवनयापनमा समस्या व्यहोर्दै आएका परिवारलाई हेटौंडा उपमहानगरपालिकाले सिलाई मेसिन हस्तान्तरण गरेको छ । उपमहानगरक्षेत्र भित्र रहेका पिछडा वर्गको उत्थान र दैनिक जिवनयापनमा सहज बनाउनका लागि सिलाई मेसिन हस्तान्तरण गरेको हो ।

हेटौंडा उपमहानगरपालिका–४ मा रहेर सिलाई कटाईको काम गर्दै दैनिक जिवनयापन गरिरहेका लादरसिं परियारलाई अनुदानस्वरुप सिलाई मेसिन हस्तान्तरण गरिएको हो । करिब १२ हजार रुपैयाँ बराबरको मेसिन हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मिनाकुमारी लामाले मंगलबार परियारलाई हस्तान्तरण गर्नुभयो । मेसिन हस्तान्तरण गर्नुहुँदै नगर प्रमुख लामाले आयआर्जन गरी जीवनयापनमा सहजता सिर्जना हुने अपेक्षा गर्नुभयो ।

यस्तै हेटौंडा–१५ की सुमिना पाख्रिनलाई साईकल हस्तान्तरण गरिएको छ । उच्च शिक्षा अध्ययनका लागि हेटौंडा बजारसम्म आउन सहजताका लागि सहयोगस्वरुप साइकल हस्तान्तरण गरिएको नगर प्रमुखको सचिवालयले जनाएको छ ।