हेटौंडाः जिल्ला खेलकुद विकास समिति मकवानपुरले पालिकास्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता आगामी माघ १० गतेभित्र सम्पन्न गराउन पालिकाहरुलाई सूचना पठाएको छ । बागमती प्रदेश खेलकुद विकास परिषद्को पत्रअनुसार चालु आर्थिक वर्षमा सञ्चालन गरिने प्रतियोगिता माघ १० गतेभित्र सम्पन्न गर्नुपर्ने जिल्ला खेलकुद विकास समिति मकवानपुरका कार्यालय प्रमख माधव कोइरालाले जानकारी दिनुभयो ।
पालिकास्तरीय प्रतियोगिता सम्पन्न भएलगत्तै जिल्लास्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता माघ मसान्तसम्म सम्पन्न गराउनुपर्ने कार्य तालिका रहेको कोइरालाले बताउनुभयो । थाहा नगरपालिकाले भने प्रतियोगिता सञ्चालन गरेर खेलाडी छनौट गरिसकेको छ । प्रतियोगितामा महिला र पुरुष दुबैतर्फ भलिबल, कबड्डी, एथलेटिक्स, कराँते, तेक्वान्दो, सटफुट, ज्याबलिङ थ्रो, हाइजम्प, लङजम्पका खेलहरु हुनेछन् ।
गत आर्थिक वर्षमा जिल्लाका ७ स्थानीय तहले मात्र राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सञ्चालन गरेका थिए । हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका, बकैया गाउँपालिका, मकवानपुरगढी गाउँपालिका, कैलाश गाउँपालिका, इन्द्रसरोवर गाउँपालिका र राक्सिराङ गाउँपालिकाले मात्र पालिकास्तरीय प्रतियोगिता गरेको थियो । अन्य तीन स्थानीय तहले प्रतियोगिता सञ्चालन गरेनन् ।











