हेटौंडाः इन्द्रसरोवर गाउँपालिकाले अति अशक्त व्यक्तिहरुलाई घरमा पुगेर नै अपाङ्गता परिचयपत्र वितरण गरिएको छ । अति अशक्त भएका र गाउँपालिकासम्म पुग्न नसक्ने व्यक्तिहरुको समस्यालाई मध्यनगर गर्दै गाउँपालिकाले घरदैलो अभियानमार्फत् अपाङ्गता परिचय पत्र वितरण गरेको हो ।
गाउँपालिकाले संचालन गरेको ३ दिने घरदैलो अपाङ्गता परिचय पत्र वितरण कार्यक्रम बुधबार सकेको छ । गाउँपालिकाले १५ जना अपाङ्गता भएका व्यक्तिहरुलाई घरमा नै पुगेर परिचयपत्र वितरण गरेको गाउँपालिकाका योजना तथा प्रशासकीय अधिकृत दीपक चापागाईले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “गाउँपालिकासम्म आएर परिचय पत्र लिन नसक्ने अपांगता भएका व्यक्तिहरुको निवेदनको आधारमा हामीले कार्यक्रम गरेका छौं । उनीहरुको समस्यालाई मध्यनजर गरी घरदैलो अभियानमार्फत् सहजताको लागि सेवा प्रदान गरिएको हो । अभियानमा रातो र निलो वर्गको परिचयपत्र वितरण गरिएको छ ।”
अभियान ५ वटै वडामा गरिएको उहाँले जानकारी दिनुभयो । अभियानको पहिलो दिन पुस १८, १९ र २० गते गरिएको उहाँले बताउनुभयो । गाउँपालिकाले आयोजना गरेको शिविरमा छुटेका र अति अशक्तहरुलाई घरदैलो अभियानमा प्राथमिकता दिईएको उहाँले स्पष्ट पार्नुभयो । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष उमा कुमारी लामा, योजना तथा प्रशासकीय अधिकृत दीपक चापागाईं, स्वास्थ्य शाखा प्रमुख मन्नुनाथ अधिकारी, महिला तथा जेष्ठ नागरिक शाखा प्रमुख कमला देवी शर्मा लगायतको उपस्थिति रहेको थियो ।











