मकवानपुर क्यानडा समाजको कार्यक्रममा सहभागीहरु सामुहिक तस्विरमा ।

हेटौंडाः मकवानपुर समाज क्यानाडाले नयाँ वर्ष २०२३ को अवसर पारेर ओन्टारियो, ब्राम्पटनमा अभिभाजकलाई स्वागत तथा सम्मान कार्यक्रमको आयोजना गरेको छ । उक्त कार्यक्रममा हालै क्यानाडा पुग्नु भएका मकवानपुर एमालेका नेता तथा संविधान सभा सदस्य अनन्त पौडेल लगायत अन्य अभिभावकहरुलाई स्वागत सम्मान गरिएको थियो ।

मकवानपुरबाट क्यानडामा बसोबास गर्ने विभिन्न पेशा ब्यवसाय तथा विद्यार्थीहरुको उल्लेख्य जमघट रहेको थियो । कार्यक्रममा मकवानपुर समाज क्यानाडाका शंकर आचार्य, सुरेश ढकाल, मुकेश बरुवाल, सिएम उप्रेती लगायतका वक्ताहरुले मकवानपुरे समाज क्यानडा गठनको उद्देश्य बारे प्रकाश पारेका थिए । उक्त कार्यक्रममा बोल्दै नेकपा एमालेका नेता अनन्त पौडेलले समाजले मकवानपुरबाट क्यानाडामा बसोबास गर्नेहरुलाई पर्ने सुख दुःखमा साथ दिन, नव आगन्तुकहरुलाई क्यानाडामा सहजीकरण एवम् व्यवस्थापन गर्न, नेपालको भाषा, कला, संस्कृति, चाड पर्वहरुको मौलिकतालाई जोगाईराख्न र समाजको तर्फबाट विभिन्न सामाजिक तथा रचनात्मक काम गर्न सुझाव दिनुभयो ।

उक्त कार्यक्रममा अनन्त पौडेलले मकवानपुरका सडक बालबालिकाको क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको मामाघर नेपालमा आश्रय लिईरहेका बालबालिकाको उज्जवल भविष्यको लागि एउटा अक्षयकोषको आवश्यकता रहेको र यसका लागि मकवानपुर क्यानडा समाजको पहलकदमीको लागि अनुरोध गर्नु भयो ।