तरकारी बजारमा विक्रीका लागि ल्याइएको गोलभेँडा ।

हेटौंडाः हेटौंडा–१०, टिसिएनक्षेत्रस्थित मकवानपुर जिल्लाकै प्रमुख थोक तरकारी बजार आज बिहानबाट खुलेको छ । तरकारी बजार खुले पनि किसानले तरकारी भने ल्याउन पाएनन् । आइतबार साँझ सरोकारवालाबीचको छलफलबाट बजार खुलाउने सहमति भए पनि किसानसम्म बजार खुलेको जानकारी पुग्न नसक्दा आज बिहान बजारमा तरकारी भने थिएन ।
तरकारी व्यवसायी गोविन्द दाहालका अनुसार भोलि मंगलबारबाट किसानले तरकारी ल्याउने बताउनुभयो । आज बिहान चितवनबाट आएको गोलभेँडा मात्रै विक्री गरिएको दाहालले बताउनुभयो । आज बिहान गोलभेँडा प्रतिक्रेट सात सय रुपैयाँमा विक्री भएको दाहालले जानकारी दिनुभयो । एक क्रेटमा २३ केजी गोलभेँडा हुन्छ ।
कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम हुने गरी थोक तरकारी बजारमा भीडभाड बढेको भन्दै १० नम्बर वडा अध्यक्ष, वडा सदस्यसहित स्थानीय टोल विकास संस्था र युवा क्लबको अगुवाईमा बिहिबार बिहान एक्कासी तरकारी बजार बन्द गराइएका थिए । तीनदिन तरकारी बजार बन्द हुँदा सर्वसाधारण मर्कामा परेसँगै बजार बन्द गराउने समूहलाई दबाव बढेको थियो । आइतबार साँझ सरोकारवाला पक्षको छलफलबाट थोकतरकारी बजार खुलाउने सहमति भएको थियो ।
आइतबार सरोकारवालासँगको छलफलपछि मकवानपुर र छिमेकी जिल्लाका कृषि उपज, तराई तथा छिमेकी मुलुक भारतबाट आलु, प्याज र लसुन मात्रै आयात गर्ने गरी बजार खोल्ने सहमति भएको १० नम्बर वडा सदस्य ईन्द्रप्रसाद नेपालले जानकारी दिनुभयो । थोक तरकारी बजारमा तत्कालका लागि कुनै पनि किसिमको फलफुलको कारोबार नगर्ने सहमति पनि भएको छ । स्थानीयले भारतबाट फलफुल आयात हुँदा कोरोना भाइरस संक्रमणको जोखिम हुने भन्दै त्रसित बनेका थिए । तरकारीको खरिद विक्रीलाई सहज बनाउन ५केजी भन्दा कम परिमाणमा विक्री गर्न नपाइने बताइएको छ ।
लकडाउनको पूर्ण पालना गराउन हेटौंडा उपमहानगरपालिकाले नगरप्रहरी परिचालन गर्ने तथा तरकारी तथा फलफुल संघले १० जना स्वयम्सेवक परिचालन गर्नेछ । तरकारी बजारमा हात धुनका लागि साबुनपानीको व्यवस्था गर्ने, तरकारी बिक्री गर्दा दुरी कायम गर्ने, मास्क, पन्जा र सेनिटाईजर प्रयोग गर्ने सहमति पनि भएको छ । वडा अध्यक्षको संयोजकत्वमा मकवानपुर उद्योग वाणिज्य संघका प्रतिनिधि, तरकारी व्यवसायी संघका प्रतिनिधि, नेत्रज्योति टोल विकास संस्था, टिसिएन युथ क्लब र सामुदायिक प्रहरी सेवाका प्रतिनिधि सहभागी संयुक्त समितिले तरकारी बजारको नियमित अनुगमन समेत गर्ने निर्णय भएको छ ।