हेटौंडाः हेटौंडा–२ स्थित जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मकवानपुरले सेवाको प्रवर्धन गर्न पत्रकारसँग अन्तरक्रिया गरेको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, मकवानपुर व्यववस्थापन समितिका अध्यक्ष मधु बजगाई क्षेत्रीको सभाध्यक्ष तथा मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेको प्रमुख आतिथ्यमा अन्तरक्रिया भएको हो ।
अन्तरक्रियामा प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले आयुर्वेद औषधीको महत्व र प्रयोग विधिबारे जनतालाई स्पष्ट तरिकाले बुझाउनुपर्ने बताउनुभयो । आयुर्वेदबारे संस्कृत भाषा उल्लेखित हुने भएकाले केही शब्द नबुझ्ने र प्रयोग गर्न पनि नजान्ने हुँदा यसलाई बुझ्ने भाषामा उल्लेख गर्नुपर्ने उहाँले बताउनुभयो ।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रकी आयुर्वेद चिकित्सक ललिता पाण्डेले स्वाथ्य केन्द्रबाट प्रवाह गरिएको सेवाहरुबारे जानकारी गराउनुभयो । जिल्ला आयुर्वेदबाट अहिले बहिरंग सेवा, निशुल्क परामर्श सेवा, सशुल्क फार्मेसी सेवा, ल्याब, फिजियोथेरापी र ज्येष्ठ नागरिक सेवा प्रवाह गरिरहेको उहाँले बताउनुभयो । अन्तरंग सेवा र योग हलको समस्या रहेको उहाँले बताउनुभयो । जिल्ला आयुर्वेदले अहिले बागमती, बकैया, मनहरी, राक्सिराङ, कैलाश गाउँपालिका, थाहा नगरपािलका र हेटौंडा उपमहानगरपालिकामा सेवा दिइरहेको उहाँले बताउनुभयो ।