सोमबार बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण बज्राचार्य र मालपोत कार्यालय मकवानपुरका प्रमुख ओम बहादुर अधिकारीबीच जग्गा प्राप्तिसम्बन्धी सम्झौतापत्र आदानप्रदान गरिँदै ।

हेटौंडाः बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले हेटौंडा–१७, हटियामा प्रादेशिक प्रहरी अस्पताल तथा विधिविज्ञान प्रयोगशाला निर्माण गर्ने भएको छ । प्रहरी अस्पताल निर्माणका लागि प्रदेश प्रहरी कार्यालयले ४ विगाहा जग्गा प्राप्त गरेको छ ।

२५ सैय्याको अस्पताल निर्माण गरी कार्यरत तथा पूर्वप्रहरी कर्मचारी तथा उनीहरुको परिवारको उपचार सेवा प्रदान गरिने जानकारी दिनुहुँदै विधिविज्ञान प्रयोगशाला समेत निर्माण गरी अपराध अनुसन्धानमा सहयोग पुग्ने बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाकी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण बज्राचार्यले विश्वास व्यक्त गर्नुभएको छ ।

संघीय सरकारको मन्त्रिपरिषद्को २०७८ साल फागुन ५ गतेको निर्णयअनुसार हेटौंडा–१७, हटियास्थित ४ विगाहा जग्गा ३० वर्षका लागि भोगाधिकार रहने गरी सोमबार मालपोत कार्यालय मकवानपुरले प्रदेश प्रहरी कार्यालयलाई हस्तान्तरण गरेको छ । सोमबार बागमती प्रदेश प्रहरी प्रमुख बज्राचार्य र मालपोत कार्यालय मकवानपुरका प्रमुख ओम बहादुर अधिकारीबीच जग्गा प्राप्तिसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

अस्पताल तथा प्रयोगशाला निर्माणका लागि जमिनको भोगाधिकार प्राप्त भएसँगै भौतिक संरचना निर्माण गरी छिटोभन्दा छिटो अस्पताल सञ्चालनका लागि संघीय सरकार, प्रदेश सरकारसँग बजेट विनियोजनका लागि पहल गरिने प्रहरी प्रमुख बज्राचार्यले बताउनुभएको छ । २५ सैय्याको अस्पताल निर्माण गरी अस्पतालको पूर्वाधार तयार पार्न विस्तृत परियोजना प्रस्ताव तयार पारिएको उल्लेख गर्नुहुँदै प्रहरी प्रमुख बज्राचार्यले भन्नुभयो, “अस्पतालको भौतिक संरचना निर्माण गर्न २५ करोड रुपैयाँ आवश्यक पर्ने अनुमान गरिएको छ ।” प्रस्तावित अस्पताल निर्माण हुँदा यो नेपाल प्रहरीको प्रादेशिक अस्पताल तथा विधिविज्ञान प्रयोगशाला पहिलो हुने उहाँले स्पष्ट पार्नुभएको छ । विधिविज्ञान प्रयोगशालाको अभावमा अहिले प्रदेशका सबै जिल्लाबाट अपराध अनुसन्धानको क्रममा प्रयोगशाला परीक्षण गर्नुपर्ने कामका लागि काठमाडौंमै निर्भर रहनुपर्ने बाध्यता रहेको छ । विधिविज्ञान प्रयोगशाला यहाँ स्थापना हुँदा प्रदेशका १० वटै जिल्लाको नमूना यहीँ परीक्षण गर्न सकिने अपेक्षा प्रदेश प्रहरी कार्यालयको छ ।