संसदीय दलको नेताको लागि उम्मेदवारी दर्ता गर्दै प्रदेशसभा सदस्य ईन्द्र बहादुर बानियाँ ।

हेटौंडाः नेपाली कांग्रेस बागमती प्रदेशको संसदीय दलको नेताका लागि २ जनाको उम्मेदवारी परेको छ । बुधबार बागमती प्रदेशसभा संसदीय कार्यालयमा पुगेर पार्टी केन्द्रीय सदस्य बहादुर सिंह लामा र प्रदेश सभापति ईन्द्र बहादुर बानियाँले प्रदेश संसदीय दलको नेताका लागि उम्मेदवारी दर्ता गराउनुभएको हो ।

लामाको प्रस्तावकमा प्रदेशसभा सदस्य कुन्दनराज काफ्ले र समर्थकमा उर्मिला नेपाल, तीर्थबहादुर लामा, रमेशकुमार महत र रामकृष्ण चित्रकार रहनुभएको छ । अर्का उम्मेदवार बानियाँको उम्मेदवारी दर्ताका लागि प्रदेशसभा सदस्य प्रभात तामाङ प्रस्तावक रहनुभएको छ भने समर्थकमा छिरिङ दोर्जे लामा रहनुभएको छ । लामा नुवाकोट निर्वाचन क्षेत्र नम्बर २ को २ बाट र बानियाँ मकवानपुर निर्वाचन क्षेत्र नम्बर २ को १ बाट प्रदेशसभामा निर्वाचित हुनुभएको थियो ।

संसदीय दलको नेताको निर्वाचनका लागि कांग्रेस बागमती प्रदेश उपसभापति चन्द्र महर्जनको संयोजकत्वमा निर्वाचन समिति गठन गरी चुनावी कार्यक्रम संचालन गरिरहेको छ । दिउँसो २ बजेदेखि ३ बजेसम्म मतदान कार्यक्रम संचालन हुने तालिका छ । संसदीय दलको नेता चयनका लागि कांग्रेसका ३७ प्रदेशसभा सदस्यहरुले मतदान गर्नेछन् ।