हेटौंडाः दशौं राष्ट्रिय पोल्ट्री दिवसको अवसरमा मकवानपुरमा सप्ताहव्यापी कार्यक्रम सुरु भएको छ । “पोल्ट्री क्षेत्रको विकासमा सर्वपक्षीय सहभागिता खाद्य र पोषण सुधारः हाम्रो प्रतिबद्धता” भन्ने नारासहित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मकवानपुरले पनि सोमबारबाट सप्ताहव्यापी कार्यक्रम कार्यक्रमको सुरु गरेको हो ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मकवानपुरका निमित्त प्रमुख तथा पशु चिकित्सक बज्र किशोर ठाकुरले सोमबार पत्रकारसँग भेटघाट गर्नुहुँदै सप्ताहव्यापी कार्यक्रमबारे जानकारी गराउनुभयो । सप्ताहव्यापी कार्यक्रम अन्तर्गत आज सोमबार दिउँसो २ बजे जिल्लाभित्रका पोल्ट्री व्यवसायी संघ संस्थाहरुसँग अन्तरक्रिया गर्दैछ । कार्यक्रमको दोस्रो दिन मंगलबार मनहरी गाउँपालिका वडा नम्बर ३ स्थित प्रजा निमाविमा अण्डा तथा मासु उपभोगको महत्वबारे स्कुल शिक्षा कार्यक्रमसहित अण्डा खुवाउने कार्यक्रम रहेको जनाएको छ ।
तेस्रो दिन बुधबार बकैया गाउँपालिका वडा नम्बर ११ मा गर्भवती महिला, कुपोषण र पुड्कोपना भएका बालबालिकाहरुलाई अण्डा वितरण गरिने जनाएको छ । बिहिबार सामरी र कमानेमा पोल्ट्री कृषकहरुलाई सचेतना कार्यक्रम, शुक्रबार राष्ट्रिय दैनिक पत्रपत्रिकामा पोल्ट्री क्षेत्रसँग सम्बन्धित र सान्दर्भिक लेख रचना कार्यक्रम, शनिबार बुद्धचोमा श्रमिकहरुलाई अण्डाको परिकार वितरण र आइतबार कार्यक्रमको समापन गरिने जनाएको छ । बागमती प्रदेशभित्र सञ्चालित पोल्ट्री व्यवसायले देशको कुल मासु तथा अण्डा उत्पदनमा क्रमशः २२ र २६ प्रतिशत योगदान पुर्याउँदै आएको प्रमुख ठाकुरले बताउनुभयो ।











