हेटौंडाः मकवानपुरमा वार्षिक ६ हजार ७ सय ७१ मेट्रिकटन कुखुरा र हाँसको मासु उत्पादन हुने गरेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका डा. निशान्त शर्मा गेलालले जानकारी दिनुभएको छ । जिल्लामा वार्षिक रुपमा २१ लाख ३० हजार कुखुरा र ४ हजार ३ सय हाँस गरी जम्मा २१ लख ३४ हजार ७ सय ३८ वटा कुखुरा हाँस पालन भईरहेको उहाँले बताउनुभयो ।
दशौं राष्ट्रिय पोल्ट्री दिवसको अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रम अन्तर्गत आज सोमबार हेटौंडामा भएको अन्तरक्रिया कार्यक्रममा उहाँले जिल्लामा ३६ हजार ५ सय हजार गोटा अण्डा उत्पादन हुने गरेको जानकारी दिनुभयो । यस्तै, बागमती प्रदेशमा १ लाख ६३ हजार ३९ सय ३९ मेट्रिकटन मासु उत्पादन हुने तथ्याङ्कमा देखिएको छ । आर्थिक वर्ष २०७८/०७९ को तथ्याङ्क अनुसार प्रदेशमा कुखुरा÷हाँसको मासु उत्पादन १ लाख १३ हजार ४ सय ३२ मेट्रिकटन छ । प्रदेशको कुल अण्डा उत्पादन ८ लाख ९९ हजार ३ सय ३५ हजार गोटा रहेको बताईएको छ । प्रदेशको कुल मासु उत्पादनमा पोल्ट्रीको योगदान ६९ प्रतिशत र राष्ट्रिय अण्डा उत्पादनमा बागमती प्रदेशको योगदान ६० प्रतिशत रहेको छ ।
“पोल्ट्री क्षेत्रको विकासमा सर्वपक्षीय सहभागिता खाद्य र पोषण सुधारः हाम्रो प्रतिबद्धता” भन्ने नाराका साथ सप्ताहव्यापी कार्यक्रम सुरु भएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मकवानपुरका निमित्त प्रमुख बज्र किशोर ठाकुरको सभाध्यक्षता तथा बागमती प्रदेश सरकारका कृषी तथा पशुपन्छी विकासमन्त्री बसुन्धरा हुमागाईको प्रमुख आतिथ्यतामा अन्तरक्रिया भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुदै मन्त्री हुमागाईले बागमती प्रदेश सरकारले प्रदेश पोल्ट्री विकास बोर्डको स्थापना गरिएको र सञ्चालनको प्रक्रिया अघि बढेको बताउनुभयो । उहाँले प्रदेश सरकारले प्रदेश कृषि विकास अध्यादेश, २०७९ बनाएको र प्रमाणीकरणको चरणमा रहेको बताउनुभयो । बागमती प्रदेश सरकारले किसानहरुलाई लक्षित गरेर ५ करोड रुपैयाँ बजेट छुट्याएर स्थायी क्षतिपुर्ति कोष स्थापना गरी सञ्चालन गरिएको उहाँले बताउनुभयो । बागमती प्रदेश सरकारले किसानहरुको वर्गिकरण गरेर परिचयपत्र वितरण गरिने बताउनुभयो । मन्त्री हुमागाईले व्यवसायीले उत्पादन गरेको वस्तुको व्यवस्थित बजार पाउनुपर्ने र गुणस्तरीय उत्पादन गर्नुपर्ने बताउनुभयो ।
यस्तै, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मकवानपुरका निमित्त प्रमुख बज्र किशोर ठाकुरले पोल्ट्रीको सप्ताहव्यापी कार्यक्रमले अण्डा तथा मासुको उपभोग बढ्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले प्रदेशभित्र दानाको परिक्षण र दानाको गुणस्तर सम्बन्धी मापदण्ड तयार गरी लागू गर्नुपर्ने धारणा राख्नुभयो यस्तै, मकवानपुरका उद्योग वाणिज्य संघका उपाध्यक्ष तथा पोल्ट्री व्यवसायी राजु अधिकारीले जिल्लामा अहिले पोल्ट्री व्यवसायीहरुको संख्या घट्दै गईरहेको गुनासो गर्नुभयो । मकवानपुरमा तीन वर्ष अघि ३ हजार पोल्ट्री व्यवसायी रहेकामा अहिले एक हजारको संख्यामा मात्रै पोल्ट्री व्यवसायी रहेको र यो पनि घट्दै जाने उहाँले बताउनुभयो ।
व्यवसायीले उत्पादन र लगानी अनुसार बजार मुल्य नपाइरहेको उहाँले स्पष्ट पार्नुभयो । सिधै किसानले पोल्ट्री बजारमा आफ्नो उत्पादन विक्री गर्न पाए उचित मुल्य पाउने उहाँको भनाई छ । उहाँले सम्बन्धित निकायले कस्ले कुखुरा पाल्न पाउने र एक जना पोल्ट्री व्यवसायीले कति वटासम्म कुखुरा पाल्न पाउने भनि मापदण्ड बनाउनुपर्ने धारणा राख्नुभयो । नत्र कुनै एक व्यक्तिले मात्र धेरै संख्यामा उत्पादन गर्ने र अरु स–साना व्यवसायी संकटमा पर्ने उहाँको भनाई छ ।











