हेटौंडाः “ऐना” कथा संग्रहबाट मदन पुरस्कार विजेता रामलाल जोशीको “बाआमा” कृतिमाथि हेटौंडामा अन्तरक्रिया भएको छ । नेपाली लेखक संघ मकवानपुरको आयोजनामा शनिबार जोशीको चौथो कृति “बाआमा” कथा संग्रहको अन्तरक्रिया भएको हो ।
लेखक जोशीले पाठकहरुको प्रतिक्रियाले प्रेरणा मिल्ने र कमी कमजोरी औंल्याउँदा सचेत हुने बताउनुभयो । समालोचक तथा समालोचनाले भने आफूलाई कुनै पनि प्रभाव नपार्ने उहाँको भनाइ छ । समालोचक घनश्याम घिमिरेले लेखक जोशीमा भाषाको चमत्कार भएपनि “बाआमा”को विषय वस्तु नयाँ नभएको बताउनुभयो । यस्तै, विचार भने पलायनमात्र भएको उहाँको धारणा छ । लेखक जोशीले कथामार्फत् करुणा र संवेदना उजागर गरेर पाठकलाई सुसूचित गर्ने प्रयासमात्र गरेको घिमिरेले बताउनुभयो ।
कुनैपनि ठूला मिडिया तथा विश्वविद्यालयद्वारा आफूलाई खासै उत्साह नमिलेको लेखक जोशीको दावी छ । आफूले भुईंमान्छेको कुरालाई जस्ताको तस्तै उजागर गर्ने गरेको र आफू स्वयम् भुईंमान्छे भएको लेखकको तर्क छ । कुनैदिन लेखनको मूल्यांकन होला, तर साहित्य सेवाका लागि नभई आनन्दका लागि मात्र भएको उहाँले बताउनुभयो । आफ्नो कृतिले साहित्यमा टेवा पुग्छ भने आफूले सौभाग्य ठान्ने उहाँले बताउनुभयो ।
“बाआमा” कथा संग्रहमा पश्चिमीका कथा र व्यथालाई समेटिएको उहाँले जानकारी दिनुभयो । हेटौंडाका पाठक र समालोचकहरुको धारणा फरक आउनुलाई आफूले स्वभाविक लिएको उहाँले बताउनुभयो । शिक्षित व्यक्तित्वहरुबाट नै ज्येष्ठ नागरिकको कदर नगर्ने, छोराछोरीबीच भेदभाव गर्ने, नारीहरु बलात्कार हुने र विवाहमा प्रसस्त दाइजो दिने चलन बढेको उहाँको धारणा छ ।
लेखक जोशीले भन्नुभयो– “यस्ता विकृति तथा अपराधहरु निम्त्याउन नदिन कारवाहीका लागि कानुनहरु बनाइरहेको अवस्था छ । आफूले सानै उमेरमा बाबुआमा गुमाएको र संघर्षमा बितेका जीवनको प्रसङ्गलाई लिएर पुस्तक निर्माण गरिएको हो ।” पुस्तकका प्रकाशक भुपेन्द्र खड्काले समग्र पक्षमा कृतिले यथार्थपरक घटनालाई उजागर गरेको बताउनुभयो । पाठक सानु खनालले पछिल्लो समय सम्बन्धविच्छेदका घटना धेरै बढेको बताउनुभयो । नेपाली लेखक संघ मकवानपुरका अध्यक्ष छवि अनित्यको सभाध्यक्षमा भएको कार्यक्रममा केन्द्रीय सदस्य हयग्रीव आचार्यलगायतको उपस्थिति थियो ।











