एसके निधन सहायक प्रिन्सीपल, सोलिड्यारिटी ईन्टरनेशन एकेडेमी

पछिल्लो समयमा संस्थागत विद्यालयहरुले विद्यार्थीको क्षमता अभिवृद्धि र पठनपाठनमा विशेष चासो लिने गरेका छन् । विद्यार्थीको नतिजालाई आधार मानेर विद्यालय संचालनमा शिक्षकहरुको महत्वपूर्ण भूमिकालाई संस्थागत विद्यालयले प्राथमिकतामा राखेको छ । सोही अनुसार संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थीको वार्षिक नजिता पनि राम्रो देखिने गरेको छ । यसै सन्दर्भमा संस्थागत विद्यालयको सिकाईको शैली, प्रक्रिया, शिक्षकको भूमिका लगायतको विषयमा समृद्ध समाज दैनिकका सम्पादक सुरेश श्रेष्ठले सोलिड्यारिटी इन्टरनेशनल एकेडेमीका सहायक प्रिन्सीपल एसके निधनसँग गर्नुभएको कुराकानीः

समाजः सहायक प्रिन्सीपलको रुपमा रहेर विद्यालयमा तपाईले नियमित रुपमा गर्नु पर्ने कामहरु के–के हुन्छन् ?

निधनः प्रशासनिक तहमा विद्यालय व्यवस्थापन बोर्ड, संचालक समिति अनि प्रधानाध्यापकको सहकार्य हुन्छ । त्यसपछि आफु मातहतका शिक्षक, शिक्षिका, कर्मचारी, विद्यार्थी, अभिभावकसँग समन्वय गर्ने, शैक्षिक योजनाहरु बनाउने अनि आफुभन्दा माथिल्लो तहबाट आएको योजनाहरुलाई कार्यान्वयनतर्फ लैजाने काम सहायक प्रिन्सीपलको हुन्छ । अनि विद्यार्थी, अभिभावकका गुनासो सुन्ने र शिक्षक साथीहरुले बनाउनु भएको कार्य योजना कार्यान्वयन गर्ने गर्नुपर्छ । समग्रमा भन्नु पर्दा विद्यालय प्रशासनको तर्फबाट विद्यार्थी, अभिभावक, शिक्षक, कर्मचारीको बीचमा समन्वयकारीको भूमिका खेल्ने पाटो हाम्रो हुन्छ ।

समाजः समग्र विद्यालयहरुमा हुने पठनपाठनको गतिविधिले तपाई कत्तिको सन्तोषजनक हुनुहुन्छ ?

निधनः पछिल्लो समयमा नेपाल सरकारले लेटर ग्रेडिङ सिस्टम ल्याएको छ । यो सिस्टम बालबालिका केन्द्रित रहेको छ । तर, अभिभावकले यस्तो सिस्टम स्विकार्न सक्नु भएको छैन । त्यसकारण अभिभावकले आफ्नो बाल बालिकाको क्षमता पहिचान नगरी सिधै शिक्षकलाई दोष दिने गरेको पाईन्छ ।

समाजः के गर्न सक्यौं भने अभिभावकको कमजोर बुझाईलाई सुधार्न सक्छौं ?

निधनः अधिकांश अभिभावकले आफ्नो बालबालिका डाक्टर, पाईलट, ईन्जिनियर, शिक्षक, व्यापारी बनोस् भन्ने गरेको पाईन्छ । तर कसैले पनि आफ्नो बालबालिका राम्रो डाक्टर, राम्रो पाईलट, राम्रो ईन्जिनियर बनोस् भन्ने गरेको पाईन्न । जबकि अभिभावकले चाहेर मात्र बच्चाले त्यो सब हासिल गर्न सक्दैन । अभिभावकले आफ्नो बच्चालाई राम्रो मान्छे असल मान्छे बनाउन सक्छन् । तसर्थ अभिभावकले आफ्नो बच्चालाई असल बच्चा बनाउनु पर्छ अनि बच्चा असल डाक्टर पनि बन्न सक्छ भनेर बुझिदिए वा बुझाउन सके राम्रो हुन्छ ।

समाजः शिक्षक अथवा विद्यालयको योजना अनुकूल सहज हुने स्थिति भए विद्यालयको पठनपाठनमा अहिलेभन्दा कस्तो सुधार गर्न सक्छौं ?

निधनः सर्वप्रथम अभिभावकले बच्चालाई तुलनात्मक रुपले हेर्नुहुन्छ । फलानोको बच्चाले त्यो पोजिसन ल्यायो मेरो बच्चाले किन ल्याएन ? आफ्नो बच्चाको कमि कमजोरी औँलाउनुको साटो ढाकछोप गर्नु हुन्छ । यसो गर्दा बच्चा सबै कुरामा राम्रो मात्र देखिन्छ शिक्षक सामु कमजोर पक्ष छेकिन्छ जसले गर्दा राम्रो रिजल्ट आउँदैन । अभिभावक स्कुल आएर शिक्षकसँग बच्चाको कमिकमजोरी औँल्याउने समय नहुने र शिक्षक पनि अभिभावकबाट टाढै बस्न पाए हुन्थ्यो झै गरिदिँदा बच्चा बिचमा परेको छ । जसले गर्दा अभिभावकले बच्चालाई जसरी चिनेको छ त्यसरी शिक्षकले चिन्न पाएको छैन । शिक्षकले बच्चालाई जसरी चिनेको छ अभिभावकले बच्चालाई त्यसरी चिन्न पाएको छैन । त्यसैले बच्चा केन्द्रित सहकार्य अभिभावक र शिक्षकबीच अलि कम देखिन्छ ।