अन्तरक्रिया गर्दै ।

हेटौंडाः ३१ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा सामाजिक विकास मन्त्रालय बागमती प्रदेशको आयोजनामा आज आइतबार हेटौंडामा अन्तरक्रिया कार्यक्रम भएको छ । मन्त्रालयका सचिव रामशरण सापकोटाको सभाध्यक्षतामा अन्तरक्रिया कार्यक्रम भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै सचिव सापकोटाले सरकारले अपाङ्गता क्षेत्रको हकअधिकार र संरक्षणमा काम गरिरहेको जानकारी दिनुभयो । अपाङ्गता भएका व्यक्तिहरुको शिक्षामा गुणस्तर र आयआर्जनमूलक कार्यमा जोड दिने तर्फ प्रदेश सरकारले काम गरिरहेको बताउनुभयो । यस्तै, कार्यक्रममा विभिन्न समयमा संचालन गरिएको प्रतियोगितामा उत्कृष्ट हुनेलाई पुरस्कृत गरिएको छ । चित्रकलातर्फ क्रमशः प्रथम, द्वितीय र तृतिय हुने शेखर फार्मुला, विपनामाया स्याङ्तान र सविना जिम्बालाई पुरस्कृत गरिएको हो ।

यस्तै, वेलुम फुटाइतर्फ प्रथम, द्वितीय र तृतीय हुने क्रमशः सञ्जय थापा, मेलिना श्रेष्ठ र उर्मीला रुम्बालाई पुरस्कृत गरिएको छ । हाजिरीजवाफतर्फ प्रथम, द्वितीय र तृतीय हुन सफल क्रमशः विनय दोङको समूह, सञ्जीव थिङको समूह र चञ्चली गुरुङको समूहलाई पुरस्कृत गरिएको छ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः २ हजार रुपैयाँ, १ हजार ५ सय रुपैयाँ र १ हजार रुपैयाँसहित प्रमाणपत्रले पुरस्कृत गरिएको हो ।

कार्यक्रममा सामाजिक विकास महाशाखा बागमती प्रदेशका प्रमुख गोपालप्रसाद कँडेल, प्रशासन तथा अनुगमन शिक्षा विकास महाशाखाका प्रमुख रुद्रहरि भण्डारी र राष्ट्रिय अपाङ्ग महासंघ बागमती प्रदेशका अध्यक्ष अस्मिन लम्साल लगायतको उपस्थिति थियो ।