हेटौंडाः रोटरी क्लब अफ हेटौंडा र सामुदायिक आँखा अस्पतालको संयुक्त आयोजनामा निःशुल्क आँखा परिक्षण शिविर तथा मोतिविन्दुको अप्रेशन गरिने भएको छ । आगामी मंसिर २० गतेदेखि २४ गतेसम्म मकवानपुरको ३ स्थान, रौतहटको एक स्थान र बाराको एक स्थानमा शिविर संचालन गरिने भएको हो ।
रोटरी क्लव अफ हेटौंडाद्वारा हरेक वर्ष गरिने निःशुल्क आँखा परिक्षण शिविरमा २ हजार ५ सय जनाको निःशुल्क आँखा परिक्षण गर्ने र १ सय ५० जना मोतिबिन्दु बिरामीको अप्रेशन गर्ने लक्ष्य आँखा शिविर संयोजक प्रमेश प्रधानले जानकारी दिनुभयो । बिरामीहरुको लागी यातायात, खाने, बस्ने र मोतिबिन्दुको अप्रेशन एवम् औषधी सम्पुर्ण निःशुल्क उपलब्ध हुने बताईएको छ । शिविरमा छनोट गरिएका बिरामीहरुलाई मोतिबिन्दुको अप्रेशनको लागि सोही दिन हेटौंडा सामुदायिक आँखा अस्पतालमा ल्याईने संयोजक प्रधानले जानकारी दिनुभयो । बिरामीहरुको अन्तिम परिक्षण हेटौंडा सामुदायिक आँखा अस्पतालमा भएपछि मात्र अप्रेशन गरिने जनाईएको छ ।
शिविरमा सामान्य बिरामीहरुलाई आवश्यकता अनुसार उचित परामर्श, उपचार र औषधि वितरण गरिने भएको छ । शिविर मंसिर २० गते बागमती गाउँपालिकाको बेतिनि स्वास्थ्य चौकी, रौतहटको परोहा नगरपालिका ८ ओम माध्यामिक विद्यालयमा हुनेछ । २१ गते मनहरी गाउँपालिका २ को सिता माध्यमिक विद्यालय र जितपुर सिमरा उपमहानगरपालिका ८ लोसन्डा स्वास्थ्य चौकीमा शिविर हुनेछ । मंसिर २२ गते राक्सीराङ्ग गाँउपालिका वडा नम्बर ३ को वडा कार्यालयमा हुने भएको छ ।











