हेटौंडाः कतारमा जारी विश्वकप फुटबलमा एसियाली मुलुक जापानले युरोपको पावरहाउस मानिने जर्मनीलाई पराजित गरेको छ । बुधबार साँझ भएको खेलमा १–० ले पछि परेको स्थितिमा पुनरागमन गर्दै जापानले जर्मनीविरुद्ध २–१ गोलअन्तरको जित निकालेको हो ।
मंगलबार मात्रै अमेरिकी महारथी अर्जेन्टिनालाई एसियाली राष्ट्र साउदी अरेबियाले २–१ गोलअन्तरले नै पराजित गरेर सनसनी मच्चिएको थियो । साउदीले पनि पेनाल्टी गोलमा पछि परेको स्थितिमा पुनरागमन जित हासिल गरेको थियो ।
बुधबार साँझ भएको खेलमा ३३औं मिनेटमा पेनाल्टीमार्फत जर्मनीका गुण्डोगानले गोल गरेका थिए । पहिलो हाफ १–० को स्थितिमा सकिएको थियो । दोस्रो हाफको ७५ औं मिनेटमा जापानका रित्सु डोनाले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । ८३ औं मिनेटमा टाकुमा असानोले विजयी गोल गर्दै सनसनी मच्चाए । जर्मनीलाई जापानले पहिलोपटक हराएको हो ।
यसअघि बुधबार नै भएको पहिलो खेलमा क्रोयसिया र मोरोक्कोले बराबरी खेलेको छ । निर्धारित समय गोलरहित बराबरीमा सकिएको छ । क्रोयसिया फिफा बरीयतामा १२ औं स्थानमा रहेको छ भने मोरोक्को २२ औं स्थानमा रहेको छ । विश्वकप फुटबलमा कोष्टारिकाले आज राती ९ बजेर ४ मिनेटमा स्पेनको सामना गर्दैछ ।