पत्रकार महासंघ मकवानपुरले सार्वजनिक गरेको प्रेस विज्ञप्ती ।

हेटौंडाः पत्रकारिता माथि प्रश्न उठाउँदै कार्यक्रम अबरोध गर्ने उम्मेदवार दिपेन्द्र चन्द ठकुरीले आफ्नो गल्ती स्वीकार गर्नुभएको छ । शनिबार हिमालयन टेलिभिजनले हेटौंडामा आयोजना गरेको चुनावी अभियान बहस कार्यक्रममा ठकुरीले अवरोध गर्नुभएको थियो ।

हिमालयन टेलिभिजन तथा सिंगो पत्रकारिता जगतमाथि प्रश्न उठ्ने गरी ठकुरीको अभिव्यक्तिप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको थियो । सञ्चार संस्थाले आफ्नो अभियान अन्तर्गत कार्यक्रम गर्दा प्रत्यक्ष प्रशारण भइरहेको कार्यक्रममै मिडिया हाउस र पत्रकारमाथि निराधार आरोप लगाई गाली गलौच गरेको विषयमा हिमालयन टेलिभिजनका बागमती व्युरो प्रमुख रविन्द्र गौतमले महासंघमा उजुरी दिनुभएको थियो । उजुरी माथि महासंघले दुई पक्ष राखी औपचारिक छलफल गरेको छ ।

महासंघ पदाधिकारी, अग्रज पत्रकारहरु र दुई पक्षबीच भएको छलफलमा उम्मेदवार ठकुरीले आफनो कमजोरी भएको स्वीकार गर्दै बुझाई फरक परेका कारण गल्ती भएको स्वीकार गर्नुभएको हो । केही अपेक्षा राखी कार्यक्रममा पुगेको र त्यहाँ फरक व्यवहार हुँदा आफूले आवेगमा केही आपत्तिजनक शब्दको प्रयोग गर्न पुगेकोमा गल्ती स्वीकार गर्दै आफ्नो अभिव्यक्तिले पत्रकारिता क्षेत्रमा पुगेको असरप्रति ठकुरीले क्षमा माग्नुभएको छ ।