हेटौंडाः नेत्रविक्रम चन्द “विप्लव” नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी मकवानपुरले सन्चालन गरेको निर्वाचन खारेज अभियानले तिव्र रुप लिएको छ । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको विरोध गर्दै आज सोमबारबाट भित्ते लेखन सुरु गरेको छ । पार्टीको कात्तिक १८ गते बसेको नेकपा मकवानपुरको दोश्रो पूर्ण बैठकले गरेको निर्णय बमोजिम नेकपाले आसन्न चुनाव खारेज अभियान सन्चालन गरेको हो ।
पार्टीले जिल्लाका सबै स्थानीय तहमा संसदीय व्यवस्था र यसका पुजारी दलहरु तथा दलका नेताहरुको गलत, जनविरोधी एवम देशद्रोही कदमको भण्डाफोर गर्दै जनतामाझ छुट्टाछुट्टै अभियान संचालन गरेको जनाएको छ । अभियानको क्रममा टोलिले जिल्लाको दशवटै पालिकामा भित्ते लेखन गरिरहेको छ । भित्तेलेखनमा “मंसिर ४ को कथित संसदीय चुनाव खारेज गरौं, नेपाल कम्युनिस्ट पार्टी जिन्दावाद, एकिकृत जनक्रान्ति–जिन्दावाद, विश्वका श्रमिकहरु–एकजुट होऔं, वैज्ञानिक समाजवाद जिन्दावाद लगायतका नाराहरु लेखेका छन् । त्यस्तै सबै क्षेत्रमा पर्चा वितरण गर्नुका साथै मसाल जुलुसको पनि तयारी भईरहेको नेकपाका जिल्ला सदस्य एवम् कार्यालय सचिव सुर्य सीले जानकारी दिनुभएको छ । उहाँको अनुसार संसदीय व्यवस्थाको खर्चिलो र दबाबपूर्ण चुनावले देश र जनताको विकास गर्दैन । निर्वाचनले देशको समस्या समाधान नभई अझ थप जटिल समस्याहरु निम्त्याउने उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, “महंगी, कालोबजारी, भ्रष्टचारी बढाउनुका साथै जनताको जनजीविका झन् कमजोर बनाउँदै लैजान्छ । आम जनताको जनजीवन उकास्नेतिर नभई देशको ढुकुटी रित्याउने, शोषित वर्ग झन् शोषित भईरहने र शोषक वर्ग दिनप्रतिदिन मोटाउँदै, फैलिँदै जान्छ । गाउँ समाजमा विकास होइन विनाश निम्त्याउँछ ।” पार्टी तथा स्वतन्त्र उम्मेदवारको घोषणा पत्रमा उल्लेख गरिएका एजेन्डाहरु त के जनताको आधारभूत आवश्यकता गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य र रोजगारको समेत ग्यारेन्टी गर्न नसकेको उहाँले दाबी गर्नुभयो । त्यसैले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव खारेज गरेको सचिव सीले बताउनुभयो । नेकपाले जिल्लाको सबै पालिकामा चलाएको अभियानअन्तर्गत पहिलो चरणमा हेटौंडा उपमहानगरपालिका, कैलाश, मनहरी र मकवानपुरगढीमा सुरु भएको जनाएको छ ।