हेटौंडाः आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले शुक्रबारदेखि मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेको छ । मकवानपुरको १० वटा स्थानीय तहको १ सय २ वटै वडामा मतदाता शिक्षा कार्यक्रम सुरु भएको छ ।
मकवानपुरमा मतदाता शिक्षा कार्यक्रमका लागि वडा तहमा कर्मचारी परिचालन गरी शुक्रबारबाट मतदाता शिक्षा सुरु गरेको बागमती प्रदेश निर्वाचन कार्यालयका प्रमुख लुम्बनाथ पोखरेलले जानकारी दिनुभयो । वडा–वडामा खटिएका स्वास्थ्य स्वयम्सेविकाहरुले मतदान गर्ने, मतपत्र मतपेटिकामा खसाल्ने, मतदान केन्द्रसम्म पुग्नेबारे आम मतदातालाई जानकारी दिने उहाँले बताउनुभयो ।
यस पटकको निर्वाचनमा ४ प्रकारको मतपत्रमा मतदान गर्नुपर्नेछ । सुरुमा प्रतिनिधिसभाको प्रत्यक्षतर्फ, दोस्रो पटक प्रतिनिधिसभाको समानुपातिकतर्फ मतदान गर्नुपर्नेछ । यस्तै, तेस्रो पटक प्रदेशसभाको प्रत्यक्षतर्फ र अन्तिम तथा चौथोमा प्रदेशसभाको समानुपातिकतर्फको मतपत्रमा मतदान गर्नुपर्नेछ । प्रतिनिधि र प्रदेशसभाको प्रत्यक्षतर्फको मतपत्र रातो रंग र समानुपातिकतर्फको मतपत्र कालो रंगको आउने उहाँले बताउनुभयो ।
आइतबार बागमती गाउँपालिका र बकैया गाउँपालिकामा मतदाताहरुलाई नमुना मतदान गर्न सिकाउने उहाँले बताउनुभयोे । नमुना मतदानमा सहभागी हुन पोखरेलले आम मतदातालाई आग्रह गर्नुभयो । यसअघिको निर्वाचनमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन हुन नसक्दा केही मत बदर भएकाले यस पटक बदर मत कम हुने निर्वाचन आयोगको अपेक्षा रहेको उहाँले बताउनुभयो । यस पटकको मतदाता शिक्षा प्रभावकारी हुने उहाँको भनाइ छ ।
मकवानपुरमा अहिलेसम्म मतगणना केन्द्र तोकी नसकेको पोखरेलले बताउनुभयो । आयोगबाट हेटौैंडा–२ स्थित सिद्धार्थ माविलाई प्रस्ताव गरेको भए पनि अहिलेसम्म निर्णय भइनसकेको उहाँले बताउनुभयो । यसका लागि निर्वाचन आयोग, मुख्य निर्वाचन अधिकृतको कार्यालय र आचारसंहिता पालना अनुगमन समितिको बैठक बसेर चाँडै टुङ्गो लगाउने उहाँले बताउनुभयो ।
मकवानपुरमा शनिबार प्रत्यक्षतर्फको मतपत्र आएसँगै निर्वाचनका सामग्री आइपुग्ने पोखरेलले बताउनुभयो । जिल्लामा यसअघि नै समानुपातिकतर्फको मतपत्र आइसकेको छ । मकवानपुरका दुई निर्वाचन क्षेत्रमा ३ सय ६४ मतदान केन्द्र रहेको छ । जसमा १९ वटा अति संवेदनशील र ६० संवेदशील मतदान केन्द्र छन् । ३ सय ६४ मतदान केन्द्रमा करिब ३ हजार कर्मचारी खटिनेछन् ।
जिल्लाका मतदान केन्द्रहरुमा खटिने कर्मचारी कार्तिक २३ गते बुधबारसम्म नियुक्त गरिने जनाइएको छ । मकवानपुरमा अहिले ३ लाख ७ सय ३३ मतदाता रहेका छन् । मकवानपुर क्षेत्र नम्बर १ मा १ लाख ५० हजार १ सय ५५ जना र मकवानपुर क्षेत्र नम्बर २ मा १ लाख ५० हजार ५ सय ७८ मतदाता रहेका छन् । यस्तै ५ जना तेस्रो लिङ्गी मतदाता रहेका छन् । चुनाव आउन अब १५ दिन बाँकी छ ।