नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामा ।

हेटौंडाः आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन नजिकिएसँगै राजनीतिक दलहरुले चुनावी प्रचारप्रसार तीव्र बनेको छ । आफ्ना एजेण्डाहरु जनतालाई बुझाउन र आफ्नो दल वा उम्मेदवारप्रति विश्वास दिलाउन राजनीतिक दलहरु सक्दो प्रयास गरिरहेका छन् । लोकतान्त्रिक–बाम गठबन्धनको उम्मेदवारहरु पनि अहिले गठबन्धनको आवश्यकता बुझाउन प्रयासरत छन् ।

लोकतान्त्रिक–बाम गठबन्धन परिचालन समितिका संयोजक समेत रहनुभएका नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाका अनुसार अहिले गठबन्धनले सामान्य भेटघाटको कार्यक्रमलाई मात्र अगाडि बढाइरहेको छ । उहाँका अनुसार जिल्लामा निर्वाचनका लागि तयारी भइरहेको छ । स्थानीय तहहरुसम्म गएर छलफल गर्ने, भेटघाट गर्ने काम भइरहेको उहाँले बताउनुभयो । चुनावी प्रचारको क्रमै रहनुभएका लामाले भन्नुभयो, “गठबन्धनका दलहरु एकजुट भएर अगाडि बढिरहेका छौं । गठबन्धनमा विश्वास भएकै आधारमा गठबन्धन गरिएको हो । अहिले देशमा गठबन्धनको आवश्यक पनि छ ।” उहाँले थप्नुभयो, “प्रतिनिधिसभामा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका तर्फबाट महालक्ष्मी उपाध्याय डिना र क्षेत्र नम्बर २ मा नेकपा समाजवादीको तर्फबाट विरोध खतिवडा उम्मेदवार हुनुहुन्छ । एउटा पार्टीको उम्मेदवार रहेको क्षेत्रमा अर्को पार्टीको उम्मेदवार अनिवार्य उपस्थित हुनु पर्ने मापदण्ड राखेका छौं । यसले पनि हामी बीच आपसी सद्भाव कायम राख्न मद्दत पुग्छ ।”

निर्वाचन आयोगले कात्तिक १७ गतेबाट मात्र चुनावी प्रचारप्रसारको मिति तोकेको हुनाले कात्तिक १६ गतेसम्म सामान्य भेटघाटको कार्यक्रम मात्र संचालन गर्ने योजना रहेको लामाले बताउनुभयो । १७ गतेपछि भने ठूलो कार्यक्रमहरु संचालन गरेर जनता माझ जाने योजना रहेको उहाँले जानकारी दिनुभयो । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा गठबन्धन विजय हुने दाबी गर्दै उहाँले स्थानीय तहको निर्वाचनले पनि गठबन्धनलाई विश्वास गरेको धारणा राख्नुभयो । उहा“ले भन्नुभयो, “स्थानीय तहको निर्वाचनमा पनि हामी धेरै स्थानमा विजयी भएका छौं । गठबन्धनको सहयोगमा नै प्रमुख र उपप्रमुखमा विजय भएको थियो । यसले गर्दा पनि गठबन्धनप्रति जनताको विश्वास बढ्दै गएको छ ।” गठबन्धनको मुख्य एजेण्डाको रुपमा संविधानको रक्षा र संविधान पालना गराउनु रहेको उहाँले बताउनुभयो । गठबन्धनको मुख्य उद्देश्य भनेको नै स्थायी सरकार स्थापना गराउनु हो । आगामी ५ वर्ष गठबन्धनको सरकार स्थापना गर्नु नै प्रमुख एजेण्डा रहेको उहाँको दाबी छ ।

देशमा शान्ति र समृद्धिको पहिचान गठबन्धन सरकारले गर्ने दावी गर्नुहुँदै लामाले सुशासन, दिगो विकासमा गठबन्धनले काम गर्ने बताउनुभयो । देश विकासका लागि भएपनि लोकतान्त्रिक–बाम गठबन्धनले जित्न जरुरी रहेको उहाँको भनाइ छ । उहाँले देशमा कांग्रेसको नेतृत्वमा गठबन्धनको आगामी सरकार बन्ने दावी गर्दै उहाँले सत्तारुढ गठबन्धनको उम्मेदवारहरुको जीत सुनिश्चित भइसकेको भएपनि जनतामाझ आफ्नो एजेण्डा र गठबन्धनको आवश्यकता सुनाउनका लागि ठाउँ–ठाउँमा पुगिरहेको जानकारी दिनुभयो ।