झिंगाहरुले यसपाली चुनाव गरे । झिंगाले चुनाव जित्यो । झिंगाले चुनाव हार्यो। झिंगाहरु जिन्दावाद र मुर्दावादमा व्यस्त भए । कोही झिंगा टायर बाल्न थाल्यो, कोही मैनबत्ती । जित्नेपक्षका झिंगा फोहोरमाथि फोहोर थप्दै रमाए, हार्नेहरुले फोहोर सिनित्तै पारेका थिए ।
अब कताका फोहोर बेचेर चुनाव लड्नु ? एउटा झिंगाले भन्यो– कस्तो फोहोरी चुनावी खेल । अर्को झिंगाले भन्यो– राजनीति भनेकै फोहोरी खेल त हो नि । बाँकी झिंगाहरु रमाइरमाइ खेलिरहे ।
झिंगा यति थिए कि, एकछेउबाट गन्दै अर्को छेउमा पुग्दा उत्तिकै बढिरहेका हुन्थे । कोही झिंगा टुटमा थिए, कोही फुटमा थिए, कोही जुटको नारा लगाउँदै पनि थिए । तर ती सबैसबै आफ्ना मौलिक परम्परा अर्थात् कुटाकुटमा थिए ।
झिंगाले औंशा पार्यो, फूल पार्यो, फेरि झिंगा जन्मियो । झिंगाको हुलका हुलबाट केही हुल झिंगा बेपत्ता भए । झिंगा हराएको सूचना झिंगापुरभर फैलिन केही बेर पनि लागेन । झिंगा दैनिक, झिंगा साप्ताहिक र झिंगा मासिक पत्रिकाहरुमा झिंगाको फोटो र हुलियासहित झिंगा हराएको सूचना छापियो । झिंगा रेडियोमा झिंगा हराएको सूचना बोलियो । झिंगा टिभीमा झिंगा हराएको सूचना देखाइयो ।
सहरबजार, नाला र फोहरका थुप्रासम्म झिंगा खोजियो । महानगरमा फोहरको थुप्रो बढेपछि गाउँगाउँबाट झिंगाका लागि फ्रि भिसा फ्रि टिकटमा झिंगाहरु माग भए ।
आउन त झिंगाहरु झिंगा भेटियो भन्दै आउँछन् । तर ती यतैका रैथाने झिंगा हुन् । बुढा झिंगाहरू भन्छन्– “ए ती त अर्कै झिंगा पो हुन् । हराएको झिंगा अर्कै हुन् । तर झिंगा हराएकामा उनीहरू अहिलेलाई खुशी पो देखिन्छन् ।” एउटा झिंगा भन्दैथ्यो– “उरन्ठेउला झिंगा एउटा फ्लाइट हान्नासाथ थाकिहाल्छ । झिंगा हुनु त आफूजस्तो” अर्को झिंगा भन्दैथ्यो– “झिंगैझिंगाको बहुमत लिएर शासन गर्छौं ।” यता सहरमा नयाँ नयाँ भर्खरै भित्रिएका चिनीका डल्लाहरू रंगिन ललिपपका रूपमा झिंगा आकर्षित गर्न राखिएका थिए । त्यही खाँदै झिंगाहरू लठ्ठ पो देखिन्थे ।
झिंगाहरूले फोहरको डंगुरमा सुरुङमार्ग खनाए । रेल चलाए । पेट्रोल, ग्यास र पानीका पाइप बिछ्याएर चाहिँदो आयात गरे । सार्वजनिक सडक, चोक, मन्दिर, विद्यालय, महल अगाडि जताततै झिंगाका लागि मात्र लेखिएको राशन निशुल्क छँदैथियो । सुकेनास लागेका झिंगा डंगुरभित्र बंगुरझैं मौलाएका थिए । उही डंगुरभित्र मेट्रो कुदाकुद थियो । ट्रली चल्थ्यो, दिनरात बिजुली बल्थ्यो । झिंगाको राज्यमा नपुग्दो त केही थिएन । रामराज्यमा राम र राज्य बाहेक केही नहुँदा झिंगा राज्यमा भन्सारदेखि संसार थियो ।
केन्द्रदेखि स्थानीय तहसम्म झिंगाकै सरकार हुदाँ पनि झिंगा खोज्न नसक्ने सरकार के सरकार ? सरकार झिंगादरबारतिरै अलमल परिराख्दा, झिंगा निवासतिरै टहलिराख्दा, महानगरका झिंगानिवास अर्थात् फोहोरका टाकुराहरुलाई गाउँगाउँमा सार्न सकिँदैन ? बचेका हाम्रा झिंगाहरु पनि उतैका फोहरमा बिलाए । लौ न तिनलाई काज सरुवा गर्न मिल्दैन ?
आफूलाई वैकल्पिक झिंगा हुँ भन्ने पनि त्यतै हराए । वैकल्पिकका वैकल्पिक थोत्राभन्दा नयाँ र नयाँ भन्दा झन् नयाँ अर्थात् फरक जातको भन्ने झिंगा कति कति ।
उताबाट यता आएका केही थान झिंगाहरू यताका थप केही थान झिंगा लिएर फेरि उही झिंगापुरतिर पुगेछन् । लौ न फेरि यता अर्को पुस्ताका हुलका हुल झिंगा बेपत्ता छन् । तिनलाई फिर्ता ल्याइदिनु प¥यो । डंगुर बढेका बढ्यै छन् ।